काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुमाथि लागेका आरोपको अस्वीकार गरेका छन् ।
बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री अोलीले पार्टी एकतामा आँच पुर्याउने मनसायबाट आएका आरोपहरु अस्वीकार गर्ने बताएका हुन् ।
‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालय सदस्य ईश्वर पोखरेलले भने ।
प्रधानमन्त्री अोलीले आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने बताएका छन् ।
‘त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ , उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ’, उनले भने ।
नेता पोखरेलले पार्टी एकताको पक्षमा उभिन र त्यही अनुसार तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।
उनले भने, ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !’




प्रतिक्रिया