भारतीय विदेश सचिव हर्षवद्र्धनको २ दिने नेपाल भ्रमण तय, लगत्तै परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी

भारतीय विदेश सचिव हर्षवद्र्धनको २ दिने नेपाल भ्रमण तय, लगत्तै परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल–भारतबीच कायम रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउन भइरहेका प्रयासबीच नोभेम्बर २६–२७ सम्म भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमण तय भएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । गोयलको भ्रमणपछि भारतीय विदेश सचिवको भ्रमण सम्भव भएको जनाइएको छ । यसअघि भारतिय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको समेत नेपाल भ्रमण भएको थियो ।

विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको भ्रमणलगत्तै दुवै देशको परराष्ट्र मन्त्रीस्तरमा समेत भ्रमण हुने तयारी भइरहेको स्रोतले जनाएको छ । पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ । विदेश सचिवको भ्रमणअघि दुवै देशका परराष्ट्रमन्त्रालयका अधिकारीले तयारी गरिरहेका छन् ।

‘भारतले सीमा समस्या समाधान सँगसँगै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन ठोस सहमति गर्न खोजेको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘भारतले नेपाली जनताले देख्ने गरी ठूला परियोजनालाई समेत अगाडि बढाउन खोजेको देखिन्छ । विकास साझेदारी बढाउन चाहेको छ ।’

नेपालमा चिनियाँ प्रभाव बढेको चर्चा भइरहेको बेला भारत झस्किएको छ भने प्रभाव र सहकार्य बढाउन भारतले खोजिरहेको विश्लेषण कूटनितिक वृतमा छ । भारतले पुराना परियोजनालाई पनि सम्पन्न गर्ने गरी प्रगति विवरण संकलन, अध्ययन र समीक्षा गरिरहेको स्रोतले जनाएको छ ।  प्रशासनिक स्तरमा भइरहेको भ्रमणले नेपाल–भारतबीच राजनीतिक सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गत पुषमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् । गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयां नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहंदै आएको छ । गत वैशाखमा भारतिय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमि भएर लिपुलेक जाने सड्कको उद्घाटन गरेसंगै दुवै देशको सम्बन्ध झन तानवपूर्ण बनेको हो ।

नेपालसंग पारिवारीक नाता समेत भएका विदेश सचिव श्रृंगलाले बंगलादेश र माल्दिभ्सलगायतका छिमेकी मुलुकको भ्रमण गरेपनि नेपालको भ्रमण भने तय हुन सकिरहेको थिएन् । नेपालले सीमा विवाद हल गर्न विदेश सचिवस्तरिय बैठकको आग्रह गरेपनि भारत विभिन्न कारण देखाउंदै पन्छिदै आएको थियो । तर, पछिल्लो समय नेपाललगायत दक्षिण एसियाका अन्य मुलुकहरुसंगको सम्बन्ध सुमधुर गर्न भारतले प्रयास गरिरहेको छ । त्यसैको निरन्तरताको रुपमा भारतबाट उच्चस्तरिय भ्रमण भएको स्रोतको दावी छ ।

श्रृंगलाले नेपाल भ्रमणको क्रममा आफ्ना समकक्षी भरतराज पौडेल,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम समेत तय भएको छ ।