काठमाण्डु – काठमाण्डु उपत्यकाका दुई निजी अस्पताल र दुई ल्याबले कोरोना संक्रमणको नक्कली रिपोर्ट बनाउने गरेको पाइएको छ ।
ह्याम्स अस्पताल, स्टार अस्पताल, सूर्या हेल्थ केयर र सेन्टर डाइगोनोस्टी ल्याबरोटरीले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै यी ल्याबबाट विदे जाने मानिसहरुलाई नेगेटिभ रिपोर्ट दिने गरेको पाइएकाले छानबिन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले ती अस्पताल र ल्याबहरुले स्वाब संकलनपश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा उक्त नगरेको, स्वाब संकलनपश्चात् पनि रिपोर्ट मनिपलुसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको पत्रमा उल्लेख गरेको छ ।
मन्त्रालयले यस्तो परिस्थिति बाराम्बार सिर्जना भएमा नेपाल भित्र हुने गरेको कोरोना परीक्षणको विश्वसनियतामा प्रश्न उठ्न सक्ने फलस्वरुप राष्ट्रिय ध्वजावाहक विमानकाे छविसमेत धुमिल हुन सक्ने तथा नियमित उडानहरुमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्यूनिकरण गर्नका लािग आवश्यक छानबिन र कारबाही गर्न माग गरेको छ ।
मन्त्रालयले उक्त अस्पतालहरुलाई कारबाही गर्नका लागि नेपाल वायुसेवा निगमबाट प्राप्त भएका प्रमाणसमेत पेश गरिएको बताएको छ ।
हङकङ, दुबई, यूएई र जापानको नारिता पुगेका यात्रुहरुमा कोरोना संक्रमण पुष्टि भएपछि पर्यटन मन्त्रालयले छानबिन गर्न आग्रह गरेको छ । नेपालबाट नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा कोरोना पुष्टि भएपछि हङकङले २५ नोभेम्बरसम्म नेपाल एयरलाइन्सको उडान बन्द गरेको छ ।
नेगेटिभ रिपोर्ट भएका यात्रुमा विदेश पुगेपछि कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न देशहरुले नेपाल एयरलाइन्सलाई सचेत गराउँदै आएका छन् । ल्याबहरुका यस्ता खालका गल्तीले राष्ट्रिय ध्वजावाहक विमान विदेशमा कालोसूचीमा पर्ने खतरा रहेको निगमका कर्मचारीको गुनासो छ ।
सरकारी ल्याबकाे रिपाेर्ट मात्रै मान्यता :
विदेशमा पटक-पटक चेतावनी पाएपछि नेपाल एयरलाइन्सले अब सरकारी अस्पतालका ल्याबबाट ल्याएको रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ ।
निगम बोर्डको केही समय अगाडि बसेकाे बैठकले निजी ल्याबबाट कोरोना परीक्षण गरिएको रिपोर्टलाई मान्यता नदिने निर्णय भएको निगमकी सूचना अधिकारी करिस्मा श्रेष्ठले जानकारी दिइन् ।




प्रतिक्रिया