काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
आइतबार दिँउसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै चार वटै सुरक्षा निकायका प्रमुख गृहमन्त्री भेट्न सिंहदरबार पुगेका थिए ।
उनले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, शसस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन् ।
गृहमन्त्री बादलले देशको पछिल्लो सुरक्षा अवस्था, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधि, चिनियाँ रक्षामन्त्री र भारतीय विदेश सचिवको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । भेटवार्ताका क्रममा गृहमन्त्री बादलले विप्लवका पछिल्ला गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
‘पछिल्लो समय विप्लव समूहका गतिविधि उच्छृङल बन्दै गएका छन् यस विषयमा आज गहन छलफल भयो । कोरोना नियन्त्रण, चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलगायतका समग्र शान्ति सुरक्षाका विषयमा गृहमन्त्रीले निर्देशन दिनुभयो’, स्रोतले कठामाण्डुपाटीसँग भन्यो ।
चिनियां रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको क्रममा मंसिर १४ गते नेपाल भ्रमणमा आउँदै छन् । त्यस्तै भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला पनि मंसिर ११ गते दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।




प्रतिक्रिया