ओली र प्रचण्डलाई मिलाउन नेकपाका दोस्रो तहका नेता सक्रिय

ओली र प्रचण्डलाई मिलाउन नेकपाका दोस्रो तहका नेता सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर १३ गते बस्दैछ । गत कात्तिक २८ र मंसिर ३ गतेको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावका विषयमा सामान्य छलफल भएको थियो ।

३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले अध्यक्ष प्रचण्डले आफूमाथि गलत र भ्रमपूर्ण आरोप लगाएको बताएका थिए । उनले प्रचण्डले लगाएका सबै आरोपको जवाफ मंसिर १३ गते बस्ने सचिवालय बैठकमा दिने बताएका छन् । पार्टीभित्र देखा परेको विवाद समाधानका लागि गहन छलफल हुनुपर्नेमा अहिले दुवै अध्यक्षबीच संवाद टुटेको छ ।

दुवै अध्यक्षबीच देखिएको विवादको असर अहिले पार्टीका तल्लो तहमा देखिन थालेको छ । गत शनिबार नेकपा नेता सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री अ‍ोलीविरुद्ध बोलेको भन्दै उनी पक्षका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । दुवै अध्यक्षबीच टुटेको संवादलाई निरन्तरता दिन दोस्रो तहका नेताहरु सक्रिय हुन थालेका छन् ।

प्रचण्ड पक्षका जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र चक्रपाणि खनाल र ओली पक्षका स्थायी समिति सदस्यहरु शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवालीबीच छलफल जारी छ ।

दुवै अध्यक्षलाई सहमतिमा ल्याउन दोस्रो तहका नेताहरुबीच आइतबार गहन छलफल भएको स्थायी समिति सदस्य पौडेलले जानकारी दिए । उनले दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको बताउँदै आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

१३ गते बस्ने सचिवालय बैठक अगाडि दुवै अध्यक्षलाई सहमतिमा ल्याउने नेताहरुको तयारी छ । एकता भएको छोटो समयमा पार्टी फुट्नबाट रोक्नु आफूहरुको कर्तव्य हुने छलफलमा सहभागी एक नेताले बताए ।

‘आइतबार हामीहरुबीच करिब २ घण्टा छलफल भयो । दुवै अध्यक्षलाई मिलाएर लैजानुपर्छ । अध्यक्षबीचमा देखिएको विवादको असर कार्यकर्तामा देखिन थालिसकेको छ । त्यसैले हामीले अहिले चुप लागेर बस्नुभन्दा पनि सहमतिको अन्तिम बिन्दु खोज्नुपर्छ भनेर छलफललाई अगाडि बढाएका हौं’, ती नेताले भने ।

पटकपटक दुवै अध्यक्षलाई भेटेर पार्टी एकताको रक्षाका लागि सहमतिमा आउन आग्रह गरे पनि सफल नभएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

त्यस्तै सोमबार बिहान पनि नेकपाका दुई जना नेताहरूले अध्यक्ष प्रचण्डलाई भेटेर वार्ताका माध्यमबाट पार्टीभित्रको विवादबारे सहमति खोज्न आग्रह गरेका छन् ।

स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डलाई भेटेर पार्टीभित्रका समस्या बैठकका माध्यमबाट हल गर्न र दुवै अध्यक्षबीच देखिएको मनमुटाव हटाएर कार्यकर्तामा एकताको सकारात्मक सन्देश दिन आग्रह गरेका छन् ।

‘पार्टी एकताका बाँकी काम टुंगोमा नपुग्दै दुवै अध्यक्ष एकअर्कालाई खुईल्याउन लाग्नुभएको छ । यसको असर कार्यकर्ताहरुमा पनि देखिन थाल्यो भनेर  आजको भेटमा प्रचण्डजीसँग भनेका थियाैं’, ती नेताले भने, ‘उहाँले पार्टी नफूट्ने जानकारी दिनुभयो । उहाँले विवाद समाधानका लागि दोस्रो तहका नेताहरुको सक्रियतालाई धन्यवाद दिनुभएको छ । ’