कोरोना नियन्त्रणमा सांसदहरुले सक्रिय भएर आफ्नो भूमिका देखाउनुस्: अध्यक्ष तिमिल्सिना

कोरोना नियन्त्रणमा सांसदहरुले सक्रिय भएर आफ्नो भूमिका देखाउनुस्: अध्यक्ष तिमिल्सिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ‘कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी सँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह ग¥यौं,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो । अहिले संक्रमण लाखौंमा पुगिसकेको छ । यो अवस्थामा हामी आतंकित नभईँ सचेत हुन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राखे ।
‘यो महामारी अहिले मानव जातीको चुनौती हो। यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ,’ उनले भने, ’समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो ।’

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

‘रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका पक्कै हुन्छ, तर, उपचार नभएको कोरोना जस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुँने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ । यसका लागि सचेतना आवश्यक छ ।’

उनले कोरोनाको महामारी सुरु हुँदा संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई राहतका नाममा करोडौं खर्च स्मरण गर्दै भने, ‘सरकारले लकडाउन गर्दा वित्तिकै गाउँ–गाउँमा राहत वितरण अभियान चल्यो । हामी जनप्रतिनिधिहरु पनि आफ्ना जनतालाई राहत वितरण गर्ने अभियानमा सक्रिय भयौं । तर त्यो संधै सम्भव भएन । त्यसो गर्नु ठिक थिएन कि भन्ने अहिले संक्रमितको संख्या लाखौं पुगेपछि महशुस भएको छ ।’

अध्यक्ष तिमिल्सिनाले पैसा वा राहतले भन्दा सचेतना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताए ।