काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओलीको जवाफी प्रतिवेदनपछि पार्टीभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ ।
शनिबार बसेको सचिवलाय बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पृष्ठ लामो प्रतिवेदन पार्टी एकता भाँड्ने नियतले ल्याइएको भन्दै पूर्वमाओवादीका नेताहरुले असन्तुष्टी जनाएका छन् ।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको जवाफस्वरुप प्रधानमन्त्री अोलीले उक्त प्रतिवेदन ल्याएका हुन् । मंसिर ३ गतेको बैठकमा ओलीले आफूमाथि प्रचण्डले गलत आरोप लगाएको भन्दै १० दिनपछि प्रमाणसहितको प्रतिवेदन पेश गर्ने बताएका थिए ।
मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्ती, रौतहटमा कार्यकर्ताको हत्यालगायतका विषयबाट उत्पन्न भएको नेकपाको विवाद अहिले उत्कर्षमा पुगेको छ ।
नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल शीर्ष नेताहरु एक अर्कालाई खुइल्याउन लागि परेको बताउँछन् ।
‘आरोप प्रत्यारोप मात्रै छन् । आफूतिर कोही पनि फर्किएका छैनन् । दुवै अध्यक्षले आफूतिर फर्किएर समीक्षा गर्नुपर्यो । एकले अर्कोलाई आरोप लगाएर मात्र समस्या समाधान हुँदैन । वैचारिक राजनीतिक बहस भएको भए त्यसले नेताहरुको स्तर पनि बढाउँथ्यो’, उनले भने ।
नेता गजुरेलले जनताले नेताको व्यवहारबाट जवाफ खोज्ने भन्दै व्यक्तिगत टिकाटिप्पणीमा नलाग्न पनि नेताहरुलाई आग्रह गरेका छन् ।
‘जनता र कार्यकर्ताले व्यवहारबाट जवाफ खोज्छन् । कागजको जवाफ खोजेका छैनन् । कागज त संविधान नै थियो नि । व्यवहारबाट जवाफ दिन सक्नुपर्यो अनि मात्र जनताले पत्याउँछन्’, उनले भने ।
पूर्वमन्त्रीसमेत रहेका गजुरेलले नेताहरु फूटको बाटोमा अग्रसर रहेको बताएका छन् । उनले अध्यक्षद्वयले पार्टी फुटाउन खोजेको आरोप लगाए ।
स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएकी छन् । उनले मंसिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री अोलीको राजनीतिक प्रतिवेदन पार्टीको समस्या समाधान गर्ने गरी आउने अपेक्षा गरे पनि त्यो नपाइएको बताइन् । नेता भुसालले दुवै अध्यक्षले आत्मसमीक्षा गरेर अगाडि बढे मात्रै पार्टी एकताको रक्षा हुने बताइन् ।
‘पार्टी गम्भीर संकटमा छ । समस्याको सुरुवात पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट भयो । हामीले हिजोको बैठकबाट आत्म समीक्षा होला र पार्टीको समस्या समाधान होला भन्ने लागेको थियो त्यो देखिएन’, उनले भनिन् ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन् ।
मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रुपमा लिन नहुने उल्लेख गरेका हुन् । नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन कार्यकर्तालाई आग्रहसमेत गरे ।
‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ’ मन्त्री पुनले भने’, घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ ।’
उनले नेताहरुबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बसहमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे ।




प्रतिक्रिया