काठमाण्डु – सरकारले आज एकसाथ देशभरका ३९६ स्थानिय तहमा अस्पतालको शिलान्यास गर्दैछ ।
सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ग्रामिण क्षेत्रका ती स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल शिलान्यास गर्न लागको हो । आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने सरकारले तयारी गरेको छ । नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुने मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमा अस्पताल बनाउन हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि शिलान्यासको तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ती अस्पताल बनाउन र उपकरण जोड्न ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च हुनेछ ।
उक्त रकम खर्च गर्न अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि अस्पताल शिलान्यास गर्न लागिएको हो । यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ ।
पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुनेछन् । त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुनेछन् । १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मी रहने व्यवस्था गर्ने सरकारको योजना छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यास गर्न लागको जानकारी दिए ।
साथै, सरकारले आजै सातै प्रदेशमा सरूवा रोग अस्पतालको पनि शिलान्यास गर्न लागेको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै संख्यामा पूर्वाधार निर्माण हुन लागेको यो ठूलो उपलब्धी हो ।




प्रतिक्रिया