भारतीय सेनामा भर्ती हुन नसकेपछि १८ वर्षमै मानसिक सन्तुलन गुमाएका गुरुङ तीन दशकदेखि बन्धक

भारतीय सेनामा भर्ती हुन नसकेपछि १८ वर्षमै मानसिक सन्तुलन गुमाएका गुरुङ तीन दशकदेखि बन्धक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा साङ्लोले बाँधेर बन्धक बनाएर राखिँदै आएको छ ।

जिल्लाको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको हो ।

गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको साङ्लोले बाँधेर राखिँदै आएको उनका ठूलो दाइ बेनीराम गुरुङले बताए । उनले भने, “भाइलाई यतिकै छोडिदिँदा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही फाल्ने, घर भत्काउने गर्ने भएकाले बाध्य भएर साङ्लोले बाँधेर राख्दै आएका हौं, यतिकै छोड्दा घर छोडेर भाग्ने र लिन जाँदा आक्रमण गर्ने गर्दा परिवारका सदस्य घाइतेसमेत हुने गरेका थिए ।”

उनी पहिला राम्रै भए पनि १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले केही बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखिएको परिवारको भनाइ छ । परिवारका अनुसार गुरुङ १८ वर्षको उमेरमा भाारतीय सेनाका लागि भर्ती हुनलाई गएका र भर्ती हुन नसकेपछि घर आउने बित्तिकै उनको मानसिक सन्तुलन गुम्न पुगेको थियो ।

मानसिक सन्तुलन गुमेका गुरुङका ठूली भाउजु दबलकुमारी गुरुङले भनिन्, “कतै कसैले सहयोग गरी राखेर उपचार गर्ने मान्छे भेटिएमा भगवान भेटे जस्तो हुथ्यो ।” आर्थिक अवस्था कमजोर भएकाले केही गर्न नसकिएको परिवारले जनाएको छ ।

मानसिक सन्तुलन गुमेका गुरुङले कोठामा निकै कष्टकर जीवन बिताउँदै आएका छन् । राम्रोसँग ओछ््यान लगाइदिए पनि सबै फाल्ने गरेकाले यतिकै राखिँदै आएको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमेका गुरुङ दाजुभाइमध्ये कान्छा हुन् । गुरुङका चार दाजुभाइ र छ दिदीबहिनी रहेकामा ठूलो दाई बेनीरामले हेरचार गर्दै आइरहेको परिवारले जनाएको छ ।