काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग जोड्न नहुने बताएका छन् ।
रिपोर्टस क्लबमा भएको साक्षत्कारमा बोल्दै डा भट्टराईले नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग जोड्न नहुने बताएका हुन् ।
चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आएका थिए । डा भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिले पनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताए ।
‘जहिले पनि हामी स्वतन्त्र मुलुक हौँ। अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो। त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडि बढायौँ भने हामी फस्छौँ । त्यो गलत हामीले गर्नुहुँदैन । नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो । नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो । अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ,’ उनले भने ।
डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरताबाहेक अन्य कुनै गतिविधि नभएको बताए । उनले भारतसँग सीमा विवादलगायत विषयमा परराष्ट्रमन्त्रीस्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताए । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीमा छलफल गरी टुंगोमा पुग्नुपर्ने बताए ।




प्रतिक्रिया