काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सहयोद्धा रामबहादुर थापा ‘बादल’ अत्यन्तै निकट पात्रका रूपमा हेरिन्थे । जनयुद्धकालकै बेला बादलको हाउभाउ, शारीरिक चालढाल र भाषणकला प्रचण्डसँग उस्ताउस्तै मिल्ने चर्चा हुन्थ्यो ।
जनयुद्धकालमा मात्रै होइन, तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन रक्षामन्त्री बादलसँग जोडिएर आयो – सेनापति रुक्माङ्गद कटवाल प्रकरण । रक्षामन्त्री बादल र सेनापति कटवालको विवाद चर्किंदै गएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नै दिनुप¥यो । प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनेसम्मका विश्वासपात्र थिए बादल । तत्कालिन सेनापति कटुवालसंग प्रचण्डको सांठगांठ निकै बलियो भएपनि बादल र तत्कालिन अर्थमन्त्री बावुराम भट्टराईको निकटता बढ्न लागेको संकेत पाएसंगै उनी बादलको कदमलाई समर्थन गर्न बाध्य भएका थिए ।
संसदीय राजनीतिका क्रममा प्रचण्डको बाटो मन नपाएर बादल केही समय मोहन वैद्य नेतृत्वको छुट्टै पार्टीमा लागे तर फर्किए । पार्टी फुटाएर गएको विगतलाई पनि बिर्सिंदै प्रचण्डले वर्तमान सरकारमा तत्कालीन नेकपा माओवादीको तर्फबाट नेतृत्व गराउँदै आकर्षक गृह मन्त्रालयको मन्त्री बनाए । प्रचण्डले बादललाई साह्रै विश्वास गर्दै आएका थिए । अहिले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर नेकपा बनेको भएपनि त्यतिबेला माओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्व बादलकै हातमा थियो ।
सरकारमा पुगेपछि बादल फेरिँदै गए । सरकारले गर्ने निर्णयमा बादलले पूर्व माओवादी पक्ष लिन सकेनन्, बरु प्रधानमन्त्री ओलीकै पक्षको रूपमा भूमिका निर्वाह गर्न थाले । कतिपयले यसलाई सरकारमा हुनुको बाध्यताका रूपमा बुझे । अध्यक्ष प्रचण्ड पनि यस्तै बुझाइमा थिए । तर समयक्रमसँगै प्रचण्डको बुझाइ र बादलको अवस्था फेरिँदै गएको छ ।
ओली पक्षमा सक्रियता
केही महिनायता नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद हुँदा बादल मौन रहन्थे । सरकारमा समेत पूर्व माओवादीको पक्षमा वर्षमान पुन ‘अनन्त’ सक्रिय हुन्थे । पूर्व माओवादी पक्ष लिनुपर्ने ठाउँमा अनन्त स्पष्ट देखिन्थे । तर सरकारमा पूर्व माओवादी मन्त्रीहरूको नेतृत्व गरेपनि बादल मौन नै रहन्थे ।
बादलले सम्हालेको गृह मन्त्रालय मातहत गत वर्ष पुसमा अनौठो घटना भयो । नेकपा अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीकै पूर्व माओवादी खेमाका कमाण्डर प्रचण्डको गृहजिल्लामा एसपीको सरुवा प्रचण्डको इच्छा विपरीत भयो । प्रचण्डका खुँखार विरोधी मानिने एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख बनाएर पठाइयो भने प्रचण्डका पूर्व सुरक्षा गार्ड एसपी दानबहादुर मल्ललाई चितवनबाट अन्तै पठाइयो । प्रचण्डको इच्छा विपरीत सरुवा भएपछि एसपी मल्लले चितवन जिल्ला छाड्न मानेनन् । यसले राजनीतिक र सुरक्षा क्षेत्रमा रडाको नै मच्चियो । पछि गंगा पन्तलाई चितवन नपठाउने शर्तमा मल्ल सरुवा गरिएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाजिर भए । उतिबेलै बादल र प्रचण्डको सम्बन्ध ठीक नभएको चर्चा समेत चलेको थियो ।
नेकपाभित्रको पछिल्लो विवादमा समेत बादल अध्यक्ष प्रचण्डको ‘लाइन’मा खुलेर कहिल्यै बोलेनन् । नेकपा विवाद उत्कर्षमा रहेका बेला गृहमन्त्री बादल ओलीलाई सहयोग पुग्ने गरी सक्रिय भएका छन् । मंसिर २१ गते आईतबार विहान बादल पार्टी उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवासमा पुगे । बादलले नेकपाभित्रको विवाद मिलाउन कार्यदल गठन गर्नुपर्नेबारे गौतमसँग छलफल गरे ।
सचिवालय बैठकमा बोल्नेक्रममा समेत गृहमन्त्री बादलले सचिवालय बैठकमै कार्यदल गठन गरेर विवाद मिलाउनुपर्ने प्रस्ताव राखे । जुन प्रस्तावलाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समर्थन गरे । ओली पक्षका सबै नेताहरू बादलको प्रस्तावमा सहमति भए ।
अर्काेतिर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ कार्यदल बनाउने प्रस्तावमा सहमत भएनन् । बादलको प्रस्ताव ओलीमाथि आएको संकट टार्ने उपाय अनुरूप आएको प्रचण्ड–नेपाल पक्षको बुझाइ रह्यो । यसअघि समेत महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले निकालेको समाधानलाई ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किएको थियो । सहमतिमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने स्थायी कमिटी बैठकको निर्णय विपरीत ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेकपा विवाद ब्यूतिएको छ ।
बादलले किन छाडे प्रचण्डलाई ?
बादल सरकारमा रहेकाले ओलीको पक्षमा लाग्नैपर्ने बाध्यता रहेको र निर्णायक चरणमा प्रचण्डतिरै लाग्ने पूर्व माओवादी पक्षको विश्वास अब टुटेको छ । बादल खुलेरै ओली पक्षमा सक्रिय भएपछि प्रचण्ड पक्ष झस्किएको छ । बादल एक्लै मात्रै होइन, उनले पूर्व माओवादी पक्षका नेताहरू लेखराज भट्ट, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा लगायतलाई समेत ओलीतिर ढल्काएको चर्चा नेकपा वृत्तमा छ । पुर्व सभामुख कृष्णबहादुर महरा समेत पछिल्लो समय उनको निकट रहेर काम गरिरहेका छन् ।
बादल पक्षका नेताहरू भने पार्टी एकता जोगाउन ओली पक्षमा लाग्नुपरेको बताउँछन् । ‘उहाँ (बादल) ले समेत प्रचण्डको कित्तामा उभिने हो भने नेकपा फुुट्ने अवस्था छ, बादलले अलिकति भएपनि ओलीलाई भर दिनुभएको छ,’ बादल निकट एक नेताले भने, ‘पार्टीमा विवाद बढाउने क्रियाकलाप गर्नुभन्दा विवादलाई सचिवालयमै मिलाउनुपर्छ भन्ने भावना एकताकै पक्षमा हो ।’
प्रचण्ड पक्ष भने विवाद मिलाउने नाममा ओलीको मनपरी र बेथितिलाई बिर्सन नसकिने निष्कर्षमा पुगेका छन् । तसर्थ प्रचण्डले पार्टीमा पेश गरेको प्रस्तावमा ओलीले ‘त्याग’ गर्नुपर्ने उल्लेख छ । तर बादल भने पार्टी एकता रक्षाको नाममा ओलीको मनपरी संस्थागत गर्ने लाइनमा उत्रिएका छन् ।
विवाद बढ्दै गएर ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्थामा बादलको गृहमन्त्री पद समेत खोसिने भएकाले ओलीले प्रधानमन्त्री रहिरहनुपर्ने पक्षमा बादल उभिएका एक पूर्व माओवादी नेताले तर्क गरे । ‘प्रधानमन्त्रीले त्याग गर्दा बादलले मन्त्री पद समेत स्वतः जान्छ,’ ती नेताले भने, ‘आफूले खाइपाई आएको गृहमन्त्री पद जोगाउन पनि उहाँ (बादल) ले ओलीको पक्षमा उभिनैपर्छ ।’
हुनत् : बादल प्रचण्डसंग असन्तुष्ट हुनुका अनेक कारण छन् । खासमा बादल चितवनबाट चुनावमा उम्मेदवार हुन चाहन्थे ।तर, उनि लड्न लागेको निर्वाचन क्षेत्रमा कृष्णभक्त पोखरेललाई उम्मेदवार नबनाए आफु चुनावमा पराजित हुन सक्ने हिसाव प्रचण्डको थियो । आफ्ना १० वर्ष पिए रहिसकेका नेता सुर्य सुवेदीमार्फत बादललाई काठमाण्डुमा चुनाव लड्न वा राष्ट्रियसभाबाट ल्याउने गरी उनि मनाउन सफल भए । बादल राष्ट्रियसभामा त आए तर उनलाई गृहमन्त्री बन्न नदिन चौतर्फी घेराबन्दी सुरु भयो ।
गृहमन्त्रीको लागी वर्षमान पुनदेखी जनार्दन शर्मा दावेदार भए । तर तिनै सुवेदी,प्रचण्ड र बादलको खुमलटारमा बसेको वैठकले बादलकै नेतृत्वमा सरकारमा जाने तय भयो र उनलाई गृहमन्त्रीको जिम्मेवारी पनि दिईयो । समय घर्कदै जांदा बादललाई त्यहांबाट हटाउन चलखेल सुरु भयो । प्रचण्ड भारत भ्रमणमा जांनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको बीचमा भएको टेलिफोन वार्तामा उनलाई गृहमन्त्रीबाट हटाउन प्रचण्डले आग्रह गरेका थिए । त्यो कुरा प्रधानमन्त्री ओलीले तत्काल बादललाई भनेनन् ।
जव प्रचण्डले भारतमा प्रधानमन्त्रीको कार्याकाल आधा आधा गर्ने सहमती भएको अन्र्तवार्ता दिए प्रधानमन्त्री प्रचण्डसंग आगो भए ।त्यसपछि उनले बादललाई सवै बेलिविस्तार सुनाए । त्यही बेलादेखी नै बादलको प्रचण्डसंगको दुरी बढ्न थालेको उनि निकट स्रोत बताउंछ । बादल निकटहरु प्रचण्डले चितवन जांदा अहिलेसम्म बादललाई संगै जांओसम्म नभनेको गुनासो गर्छन् ।
चितवनमा बादललाई स्थापित गर्न नखोजेको अर्थमा यसलाई बादल समुहले लिएको छ । त्यसो त बादल नेकपाभित्र यस्ता पात्र हुन जसको केन्द्रिय समितिमा ३२ जना नेताहरु एक ठाउंमा छन् । त्यतिमात्र होईन प्रदेशहरुमा समेत उनको बलियो उपस्थिती छ । पुर्व माओवादीका असन्तुष्ट धैरै नेताहरुलाई संगठित गरेर शक्ति आर्जन गर्ने रणनीतिमा बादल लागेका छन् ।
उनले निकटस्थहरुसंगको छलफलमा प्रचण्ड र ओली दुवैको आलोचना गर्ने गरेका छन् । दुवै नेताहरु सच्चिएर पार्टी एकतालाई कायमै राख्नुपर्ने तर्क बादलले गरेको स्रोतको दावी छ । गत हप्ता झापाका प्रदेश सांसद र विद्यार्थी नेताहरुसंगको भेटमा समेत बादलले आफु पार्टी एकताका लागी विचमा बसेको भन्न भ्याए । उनले दुवै नेताहरुले प्रतिवेदन फिर्ता लिएर साझा प्रतिवेदन ल्याउनुपर्ने बताएका थिए ।




प्रतिक्रिया