काठमाण्डु – याम्बालिङ्ग हाइड्रोपावरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जोडेर आएका समाचारबारे आपत्ति जनाएको छ । कम्पनीले नेकपा नेता एवं पूर्वसांसद कमानसिंह लामाको मृत्यु प्रकरणबारे प्रवक्ता श्रेष्ठको नाम जोडेर मिडियामा आएका भ्रमपूर्ण समाचार तथ्यहिन भएको बताएको छ ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कमानसिंह र श्रीमती इन्द्र माया तामाङले सञ्चालन गरेको हाइड्रोपावरबारे जोडेर आएका समाचार तथ्यहिन भएको बताएको हो । विज्ञप्तिमा हाइड्रोपावर गम्भीर आर्थिक संकटमा फसेको र विभिन्न व्यक्तिको सहयोगमा टेकओभर गरिएको उल्लेख गरिएको छ ।
‘कम्पनी सञ्चालन गर्न नसकी उहाँ र उहाँका श्रीमती पनि आर्थिक संकटमा परेकाले समस्या समाधानका लागि पटक–पटकको अनुरोध पछि आपसी सहमतिमा कम्पनीको आर्थिक संकट समाधान गर्न साविकका सञ्चालक र हामीबीच आर्थिक, कानूनी र व्यवहारिक सबै प्रक्रिया पूरा गरी यस कम्पनीको टेकओभर गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रवक्ता श्रेष्ठको चरित्र हत्या गर्ने उदेश्यले आएका भ्रामक, कपोकल्पित एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्य पूर्ण भएको जनाइएको छ ।
‘प्रवक्ता जस्तो व्यक्तिले आफू निकट व्यक्ति लामाले उठाएका विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयास स्वरुप भए गरेको छलफललाई अन्यथा भन्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले यस विषयमा सत्यतथ्य जानकारी लिन लामाकी पत्नी एवं कम्पनीकी सञ्चालक तामाङसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।





प्रतिक्रिया