काठमाण्डु– पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमा पहिलो बहुअर्बपति (मल्टिबिलियनेयर) बनेको दाबी गरिएको छ।
बेलायती सञ्चारमाध्यम डेली मेलका अनुसार फोर्ब्सको सन् २०२६ को सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका रोनाल्डोले पछिल्लो एक वर्षमा २२५ मिलियन पाउन्ड कमाएका छन्।
साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोको वार्षिक कमाइ नेपाली रुपैयाँमा करिब ३८ अर्ब रुपैयाँभन्दा बढी हुन्छ। उनको दैनिक कमाइ करिब ४ लाख ८८ हजार पाउन्ड अर्थात् ८ करोड रुपैयाँभन्दा बढी रहेको समाचारमा उल्लेख छ।
रोनाल्डोले मैदानबाहिरबाट पनि ठूलो आम्दानी गरेका छन्। फोर्ब्सको आकलनअनुसार उनले पछिल्लो एक वर्षमा प्रायोजन, विज्ञापन र विभिन्न व्यावसायिक गतिविधिबाट ४२ मिलियन पाउन्ड कमाएका छन्।
रोनाल्डोले यसअघि नै फुटबलबाट एक अर्ब डलर कमाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए। सन् २०२६ मा उनको करियरको कुल कमाइ दुई अर्ब डलर नाघेको डेली मेलले जनाएको छ।
मेस्सी दोस्रो स्थानमा
सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा अर्जेन्टिनाका लियोनल मेस्सी दोस्रो स्थानमा छन्। इन्टर मियामीबाट खेलिरहेका मेस्सीले पछिल्लो एक वर्षमा १०९ मिलियन पाउन्ड कमाएको अनुमान छ।
मेस्सीको कमाइमा मैदानबाट प्राप्त ५२ मिलियन पाउन्डभन्दा बढी र विज्ञापन तथा व्यावसायिक सम्झौताबाट प्राप्त करिब ५६ मिलियन पाउन्ड समावेश छ। उनी पनि करियरको कुल कमाइ दुई अर्ब डलर पुर्याउने नजिक रहेको समाचारमा उल्लेख छ।
रोनाल्डो र मेस्सी पछिल्लो १३ वर्षमध्ये १२ वर्ष सर्वाधिक कमाउने दुई फुटबल खेलाडी बनेका छन्। साउदी क्लब अल नासरसँगको आकर्षक सम्झौताले रोनाल्डोलाई शीर्ष स्थानमा कायम राख्न ठूलो भूमिका खेलेको छ।
सर्वाधिक कमाउने शीर्ष १० खेलाडी
फोर्ब्सको सूचीअनुसार पछिल्लो एक वर्षमा सर्वाधिक कमाउने फुटबलर :
१. क्रिस्टियानो रोनाल्डो : २२५ मिलियन पाउन्ड
२. लियोनल मेस्सी : १०९ मिलियन पाउन्ड
३. किलियन एम्बाप्पे : ७५ मिलियन पाउन्ड
४. एर्लिङ हालान्ड : ६४ मिलियन पाउन्ड
५. भिनिसियस जुनियर : ५७ मिलियन पाउन्ड
६. लामिन यमाल : ४१ मिलियन पाउन्ड
७. साडियो माने : ४० मिलियन पाउन्ड
८. जुड बेलिङ्घम : ४० मिलियन पाउन्ड
९. ह्यारी केन : ३१ मिलियन पाउन्ड
१०. मोहम्मद सलाह : ३० मिलियन पाउन्ड


प्रतिक्रिया