काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद संवैधानिक परिषद्को बैठकमा पनि गरेको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले मंगलबार बिहानका लागि बोलाएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा नै अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री ओलीले पर्याप्त समन्वय नगरेको भन्दै सभामुखले बैठकमा जान अस्वीकार गरेका हुन् । उनले बैठक अगाडि आफूसँग गृहकार्य नगरेको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्ट रहेका सभामुख सापकोटाले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख अनुपस्थित भएपछि बैठक पुनः दिउँसो ५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा , राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित थिए ।
परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । हाल उपसभामुखको कोटा रिक्त रहेको छ ।
संवैधानिक परिषद (काम कर्तब्य र अधिकार कार्यबिधि) सम्बन्धी ऐन २०६६को परिषद बैठक सम्बन्धी कार्यबिधिमा बैठकको कोरम पुग्नका लागि अध्यक्षसहित ५ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने उल्लेख छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख सापकोटालाई बैठकमा अनुपस्थित हुन निर्देशन दिएको स्रोतले जानकारी दिए ।
प्रधानमन्त्री अोलीले संवैधानिक परिषद्का सदस्य नियुक्तीमा पार्टीभित्र छलफल नगरेको भन्दै अध्यक्ष प्रचण्ड र नेपालले बैठकलाई असहयोग गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री निकट एक जना स्थायी कमिटी सदस्यले सरकारलाई पार्टीबाट असहयोग भएको गुनासो गरेका छन् । उनले लामो समयदेखि रिक्त रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त स्थानमा नियुक्ति हुन नसक्दा समस्या उत्पन्न भएको बताए ।
‘पार्टीको झगडाको प्रत्यक्ष असर आजको बैठकमा देखियो । सभामुखले नै सरकारलाई असहयोग गर्नु त जायज विषय भएन नि !’ ति नेताले भने ।
अहिले विभिन्न आयोगमा प्रमुख तथा आयुक्त गरी ४५ पद रिक्त छन् ।




प्रतिक्रिया