दिल्लीमा अर्थमन्त्री वाग्लेले भने – नेपालमा अब भारतविरोधी राष्ट्रवादको अन्त्य भइसक्यो

दिल्लीमा अर्थमन्त्री वाग्लेले भने – नेपालमा अब भारतविरोधी राष्ट्रवादको अन्त्य भइसक्यो

प्रधानमन्त्री बालेनले शाह यसै वर्षको अन्त्यसम्म भारत भ्रमण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली– नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सन् २०२६ को अन्त्यसम्म भारत भ्रमणमा निस्किने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै वाग्लेले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे जानकारी दिएका हुन् ।  

उनले भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा पनि व्यक्त गरे । एनडीटीभीकी पद्मजा जोशीसँगको संवादमा वाग्लेले नेपाल र भारतबिचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नभई गहिरो सांस्कृतिक सम्बन्धमा आधारित रहेको बताए ।  

कहिलेकाहीँ समस्या देखिए पनि दुवै देश एकअर्कासँग मजबुत रूपमा जोडिएको उनको भनाइ थियो । ‘नेपालको संसारका अरू कुनै देशसँग भारतसँग जस्तो सम्बन्ध छैन,’ वाग्लेले भने ।

विपद्मा भारतीय सहयोगको प्रशंसा

वाग्लेले सन् २०१५ को विनाशकारी भूकम्पदेखि हालैको बाढीसम्म नेपाललाई भारतले सहयोग गर्दै आएको उल्लेख गरे । भूकम्प गएको केही घण्टाभित्रै राहत सामग्री बोकेको विमान काठमाण्डु आइपुगेको स्मरण गर्दै उनले विपद्का बेला भारतले अग्रसर भएर सहयोग गर्ने गरेको बताए ।

गत भदौ १० गते नेपालमा आएको बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई फोन गरेर आवश्यक सहयोगको आश्वासन दिएको पनि उनले उल्लेख गरे ।

वाग्लेले भारतको सहयोग र २ देशबिचको निरन्तर संवादले आपसी सम्बन्ध थप बलियो बनाएको बताए ।

भारतविरोधी राष्ट्रवादको भाष्य अन्त्य

नेपालको नयाँ नेतृत्व भारतसँग अझ राम्रो सम्बन्ध विकास गर्न इच्छुक रहेको वाग्लेले बताए । ‘एक समय नेपालमा राष्ट्रवादको भावनालाई भारतविरोधी सोचसँग जोडेर हेरिन्थ्यो । तर त्यो समय अब समाप्त भएको छ,’ उनले भने ।

उनको भनाइले नयाँ सरकारको भारतसँगको सम्बन्धप्रतिको दृष्टिकोणलाई संकेत गरेको छ ।

‘विकसित भारत’बाट नेपाललाई पनि लाभ

भारतको ‘विकसित भारत २०४७’ अभियानले नेपाललाई समेत फाइदा पुग्ने वाग्लेको भनाइ थियो । भारतको अर्थतन्त्र बलियो हुँदै जाँदा नेपालका लागि व्यापार, पर्यटन र आर्थिक सहकार्यका नयाँ अवसर सिर्जना हुने उनले बताए ।

भारतको मध्यम वर्गको आय र खर्च गर्ने क्षमता बढेसँगै भारतीय पर्यटकको संख्या पनि बढ्ने र त्यसबाट नेपालको पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने उनको अपेक्षा छ ।

वाग्लेले नेपाल र भारतबिचको सम्बन्ध स्वत: बलियो नहुने भन्दै त्यसका लागि निरन्तर प्रयास, व्यापार विस्तार र आर्थिक सहकार्य आवश्यक रहेको बताए ।