संवैधानिक परिषद्को बैठकः सभामुखले बहिस्कार गरेपछि अ‍ोलीको विकल्प के ?

संवैधानिक परिषद्को बैठकः सभामुखले बहिस्कार गरेपछि अ‍ोलीको विकल्प के ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक अन्यौलमा परेको छ ।  मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अनुपस्थित भएपछि बैठक पुनः ५ बजेका लागि बोलाइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका कारण आइतबारको बैठकमा पनि अनुपस्थित भएका सभामुख सापकोटा साँझकाे बैठकमा पनि सहभागी हुने सम्भावना न्यून छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका कारण आइतबारको बैठकमा पनि अनुपस्थित भएका सभामुख सापकोटा साँझ पनि सहभागी हुने सम्भावना न्यून छ ।

सभामुख सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । सभामुख सापकाृटालाई बैठकमा उपस्थित गराउनका लागि प्रधानमन्त्री ओलीले पहिले नेकपाभित्रको विवाद समाधान गर्नुपर्ने देखिएको छ । त्यसका लागि अध्यक्ष प्रचण्डसँग छलफल गर्नुपर्नेछ । तर, प्रचण्ड प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीबाट रुष्ट बन्दै आएका छन् ।

उनी तत्काल सहमतिमा आउने सम्भावना कम रहेको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रचण्डले यसअघि पनि पार्टीका विवाद समाधानका लागि ओलीले सामूहिक छलफल गर्नुपर्ने बताएको र अबका दिनमा पनि सोहीअनुसार नै अगाडि बढ्ने ती नेताको दाबी छ ।

‘ओलीजीले पटक–पटक प्रचण्ड कमरेडलाई धोका दिइसक्नु भएको छ । अब उहाँ –प्रचण्ड) उधारोमा सहमति गर्ने मनस्थितिमा हुनुहुन्न । किनकी पुनः प्रधानमन्त्रीले धोका दिनुहुन्छ भन्नेमा विश्वस्त भइसक्नु भएका छ’, ती नेताले काठमाण्डुपाटीसँग कुरा गर्दै भने , ‘तर, अहिलेको अवस्थामा प्रधानमन्त्रीले पार्टीको विवाद समाधान नगरी संवैधानिक परिषद्को बैठक राख्न सक्दैनन् ।’

त्यस्तै प्रतिनिधि सभाको उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्काे बैठकका लागि उपसभामुख पदपूर्ती गर्नुपर्ने छ । उपसभामुख नियुक्त गर्नका लागि अ‍ोली एक्लैले सम्भव छैन् । उनले प्रतिपक्षी दलसँग सहमति गरेर मात्रै उपसभामुख पदपूर्ति गर्न सक्नेछन् ।

संविधानको धारा ९१(२) मा सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । हाल सभामुख सत्तारुढ दल नेकपाबाट अग्नी सापकोटा छन् ।

नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संवैधानिक परिषद्को बैठकका लागि प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्र गहन छलफल गरेर अगाडि बढ्न सक्ने विकल्प रहेको बताए । उनी अध्यक्ष प्रचण्डलगायतका नेकपा नेताहरुसँग सहमति गरेर सभामुख सापकोटासँग पनि छलफल गर्नुको विकल्प प्रधानमन्त्री ओलीसँग नरहेको बताउँछन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । ६ जना सदस्य रहेको परिषद्मा पाँच जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । हाल उपसभामुखको कोटा रिक्त रहेको छ ।