संवैधानिक परिषद्काे बैठक अवरुद्ध भएपछि सरकारले ल्यायो अध्यादेश

संवैधानिक परिषद्काे बैठक अवरुद्ध भएपछि सरकारले ल्यायो अध्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नयाँ अध्यादेश जारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादका कारण पटक–पटक संवैधानिक परिषद् बैठकको बैठक अवरुद्ध भइरहेका बेला सरकारले अध्यादेश ल्याएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा सहभागी नभएपछि स्थगित भएको छ । कोरम नपुगेर आइतबारदेखि स्थगित हुँदै आएको परिषद्को बैठक बस्न सहज बनाउने गरी अध्यादेश ल्याइएको बताइएको छ ।

अध्यादेशमा सभामुखको उपस्थिति बिनै बैठक बस्न सकिने व्यवस्था गरिएको छ । परिषद्को बैठकका लागि गणपुरक संख्याको आवश्यकता पर्दछ । ६ जना सदस्य रहेको परिषद्मा पाँच जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको थियो ।

परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । हाल उपसभामुखको कोटा रिक्त रहेको छ । आज जारी गरिएको अध्यादेशअनुसार अब सभामुखको अनुपस्थितिमै बैठक राख्न सकिनेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।