काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्य नभए पनि बैठक राख्न सक्नेगरी अध्यादेश जारी गरेपछि देउवा बैठकमा सहभागी नहुने भएका हुन् ।
आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा सहभागी थिएनन् । सभामुख बैठकमा नआउने देखेपछि अोलीले अध्यादेश जारी गरेका हुन् । संवैधानिक परिषद्को बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।
देउवा निकट मानिएका कांग्रेस नेता रमेश लेखले सभापति देउवा बैठकमा जानु र नजानुको कुनै अर्थ नरहेकाले बैठकमा सहभागी नहुने बताए ।
अध्यादेशमा सभामुखको उपस्थिति बिनै बैठक बस्न सकिने व्यवस्था गरिएको छ । परिषद्को बैठकका लागि गणपुरक संख्याको आवश्यकता पर्दछ । ६ जना सदस्य रहेको परिषद्मा पाँच जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको थियो ।
परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । हाल उपसभामुखको कोटा रिक्त रहेको छ ।
आज बिहानको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।




प्रतिक्रिया