काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीले आफूखुसी ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री अोलीले पार्टीमा कुनै छलफल नै नगरी एकलौटी रुपमा ल्याएको उक्त अध्यादेश फिर्ता गर्न नेताहरुले निर्देशन दिने स्रोतले जानकारी दियो ।
‘स्वेच्छाचारी ढंगले ल्याइएको विवादित अध्यादेश सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ । आजको बैठकमा हामी यही विषय जोडदार रुपमा उठाउने छौं र फिर्ता गर्न पनि बैठकले निर्देशन दिनेछ’, एक स्थायी कमिटी सदस्यले भने ।
अध्यादेशबारे असन्तुष्टी राख्ने नेकपा सचिवालयका पाँच जना सदस्यको भेला मंगलबार साँझ खुमलटारमा बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिने सहमति भएको छ ।
त्यस्तै नेकपा नेता भीम रावलले पनि स्थायी कमिटीको बैठक चलिरहेका बेला अध्यादेश ल्याउनु स्वेच्छाचारी काम भएको बताएका छन् ।
उनले संसदको अधिवेशन बोलाउनु पर्नेमा प्रधानमन्त्रीले एकलौटी रुपमा ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।




प्रतिक्रिया