प्रचण्ड भेट्न खुमलटार पुगे शंकर पोखरेल, अध्यादेशबारे छलफल

प्रचण्ड भेट्न खुमलटार पुगे शंकर पोखरेल, अध्यादेशबारे छलफल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बुधबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले स्थायी कमिटी बैठक र संवैधानिक परिषद्को अध्यादेशबारे छलफल गरेका छन् ।

पोखरेलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आजको बैठक रोक्न गरेको प्रस्ताव अध्यक्ष प्रचण्डलाई सुनाएका थिए । अध्यक्ष प्रचण्डले बैठक रोक्न नसकिने जवाफ दिएको स्रोतले जानकारी दियो ।

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दैछ ।  आजको बैठक अध्यादेश फिर्ताका लागि प्रधानमन्त्री ओलीलाई निर्देशन दिने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र मन्त्रिपरिषदमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तत्काल फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘ संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ तुरुन्त खारेज गर्न अध्यक्ष प्रचण्डले माग गरेका छन् ।

उनले बदनियतपूर्ण तरिकाले आएको अध्यादेश तत्काल फिर्ता हुनुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।