काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकअर्कालाई लगाएका आरोप फिर्ता लिन सहमत भएका छन् ।
गत भदौ २६ यता एकअर्काले लगाएका आरोप फिर्ता लिने सहमतिमा पुगेको स्रोतले जानकारी दियो । बुधबारको स्थायी कमिटी बैठक अगाडि भएको भेटवार्तामा दुवै अध्यक्षले आगामी दिनमा मिलेर जाने सहमति गरेका हुन् ।
स्रोतकाअनुसार भदौ २६ गतेपछिका सबै आरोप फिर्ता लिने र सामूहिक दस्तावेज बनाएर अघि बढ्ने सहमति भएको हो ।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीमाथि विभिन्न आरोपसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनबाट चिढिएका प्रधानमन्त्री ओली पार्टीभित्र एकलौटी रुपमा अघि बढ्दै आएका थिए ।
भदौ २६ मा ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो ।
त्यस्तै प्रधानमन्त्री ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।
आजको बैठक अगाडि प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा दुई पटक छलफल भएको थियो ।
दोस्रो पटक महासचिव विष्णु पौडेलसहित दुवै अध्यक्षबीचको बैठक बालुवाटारमा बसेको थियो । स्थायी कमिटी बैठकमा जाने अडान लिएका प्रधानमन्त्री अोली दोस्रो बैठकमा सहमतिमा आएका हुन् ।




प्रतिक्रिया