चिनी मिल मालिकलाई पक्राउ नगर्नु भन्दै नेताको फोन आयोः लेखराज भट्ट

चिनी मिल मालिकलाई पक्राउ नगर्नु भन्दै नेताको फोन आयोः लेखराज भट्ट


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी मिल मालिकलाई गिरफ्तार नगर्न नेताहरुको फोन आएको बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले उखु किसानका पैसा नदिने व्यवसायीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका हुन् ।

उनले प्रश्न गर्दै भने, ‘किसानको नाममा सामाजिक सञ्जालमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगीलाई पक्राउ नगर भन्ने यो कस्तो चरित्र ? ।’ कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ उनले खुलाएनन् ।

गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिएपछि श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रौतहट प्रहरीको पत्रका आधारमा उनीहरुको खोजी सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

उनीहरु काठमाण्डुमा बस्दै आइरहेको बुझिएको छ । प्रहरीले उनीहरुलाई रातभर खोजेपनि उनीहरु फेला भने परेका छैनन् ।