ओलीसँग छलफल गर्न प्रचण्ड पुनः बालुवाटार पुगे

ओलीसँग छलफल गर्न प्रचण्ड पुनः बालुवाटार पुगे


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

अहिले उनीहरु छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठक केहीबेरमा बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा सरकारले संसद विघटनको सिफारिस गरेपछि त्यसबारे विशेष एजेण्डा बनाएर छलफल हुने भएको छ ।

सरकारले संसद विघटनको सिफारिस गर्ने सूचना दिएपछि प्रचण्ड आज बिहान पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । तर, प्रचण्ड बालुवाटारमै हुँदा प्रधानमन्त्रीले संसद विघटनको सिफारिसको निर्णय लिएर राष्ट्रपति कार्यालय हिँडेपछि प्रचण्ड बालुवाटारबाट फर्किएका थिए ।

त्यसपछि प्रचण्डले आफ्नो निवास खुमलटारमा आफु निकटका नेताहरुसँग आगामी कदमबारे छलफल गरेका थिए । सोही छलफलपछि दाहाल प्रधानमन्त्रीलाई भेट्न र स्थायी कमिटी बैठक संचालनका लागि बालुवाटार पुगेका हुन् । स्थायी कमिटी बैठकका लागि अन्य नेताहरु पनि बालुवाटार पुगिसकेका छन् ।