काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री रायमाझीले उर्जा क्षेत्रका सम्भावनालाई केलाउँदै समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न निर्देशन दिएका हुन् ।
‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्नुहोस्,’ पदबहाली गर्दै उनले भने ।
मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने आफ्नो योजना सुनाएका थिए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।
सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी गराए ।




प्रतिक्रिया