सुर्य थापाको टिप्पणीः प्रचण्ड–नेपालको पार्टी कब्जा गर्ने छलछामपूर्ण कोसिस उदांगो भयो

सुर्य थापाको टिप्पणीः प्रचण्ड–नेपालको पार्टी कब्जा गर्ने छलछामपूर्ण कोसिस उदांगो भयो


काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्ड–नेपाल समूहको पार्टी कब्जा गर्ने छलछामपूर्ण कोसिस उदांगो भएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत सल्लाहकार थापाले पार्टी विभाजन गरेर नेकपाबाट अलग भएको तर उनीहरुको पार्टी कब्जा गर्ने छलछामपूर्ण कोसिस असफल रहेको बताएका हुन् ।

‘केही नेताहरू पार्टी विभाजन गरी अलग भएका छन्, यो तिनले रोजेको बाटो हो । पार्टी कब्जा गर्ने तिनको छलछामपूर्ण कोसिश अन्तत: उदांगो नै भएको छ,’ उनले भने ।

त्यस्तै उनले पार्टी विभाजन भएका बेला मनका गुनासो पोखेर समय खेर फाल्ने समय नभएको र हरेक कार्यकर्ता र समर्थकहरू पार्टीको सही नेतृत्व र विचारको मातहत गोलबन्द हुनु अहम दायित्व भएको बताए ।

पूर्वधारको संकीर्णता, पूर्व गुटहरूको असमझदारी र स्थानीय अन्तर्विरोधमा अल्मलिन नहुने समेत उनको धारणा छ । उनले भनेका छन्, ‘यतिबेला पूर्व धारको संकीर्णता, पूर्व गुटहरूको असमझदारी र स्थानीय अन्तर्विरोधमा अल्मलिने वा किन्तु, परन्तु, यद्यपि, तथापि, वा, तर र तापनि भनेर व्यक्तिगत रूपमा भ्रमित हुने अथवा अलमलिने गल्ती कसैले पनि नगरौं ।’

त्यस्तै प्रचण्ड–नेपाल समूहलाई अवसरबादको संज्ञा दिँदै भुलसुधार गरी पार्टीमा फर्किनसक्ने समेत बताएका छन् । ‘अब तिनीहरू अवसरवादी सोंचाईहरू त्यागेर भूलसुधार गरी पार्टीमा फर्किनसक्ने छन्,’ उनले भनेका छन् ।

साथै उनले समयमै सचेत र जागृत हुँदै सही नेतृत्व र पार्टी छनोट गरी शीर उचो पारेर स्वाभिमानका साथ अघि बढ्न आग्रह गरेका छन् ।