पठाओको कार्यालयमा तोडफोड, केही राइडरहरु पक्राउ

पठाओको कार्यालयमा तोडफोड, केही राइडरहरु पक्राउ


काठमाण्डु – राइड सेयरिङ कम्पनी पठाओको कार्यालयमा तोडफोड भएको छ । चर्को नाराबाजी गर्दै कार्यालय घेराउ गरेका पठाओ राइडरहरुको एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाउने क्रममा राइडरहरुको एक समूहले तोडफोड गरेको हो ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेको, आफुखुशी मनलागेको मान्छेलाई निस्कासन गर्ने गरेको लगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् । पठाओ राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा आन्दोलनसहित ११ बुँदे मागपत्र पेस गरेका थिए ।

मागपत्रमा राइडर र पेसेन्जरको अनिवार्य इन्स्योरेन्स हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरहरुलाई निलम्बन गर्नु पूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टोमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनु पर्ने, स्पेन्ट रेकर्ड राख्नु पर्ने, राइडर र युजर पेजेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग थियो ।

उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए । सो दिनसम्म पनि आफूहरुको माग पूरा नभए सामूहिक रुपमा कम्पनी त्यागको घोषणा गर्ने चेतावनी राइडरहरुले दिएका थिए ।

गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म नआए सामूहिक रुपमै पठाओ त्यागको घोषणा गर्ने र सबैलाई पठाओ प्रयोग नगर्न समेत आह्वान गर्ने उनीहरुको दाबी थियो ।