प्रचण्ड–नेपाल समूहका मन्त्रीलाई हटाउँदिनः मुख्यमन्त्री गुरुङ

प्रचण्ड–नेपाल समूहका मन्त्रीलाई हटाउँदिनः मुख्यमन्त्री गुरुङ


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रदेशमा मुख्यमन्त्रीहरुले मन्त्री हटाउने अभियान सुरु भएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका मुख्यमन्त्रीहरुले मन्त्रीलाई हटाउन सुरु गरेका छन् ।

ओली र प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्रीले फरक मत राख्ने मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका हुन् । यता गण्डकी प्रदेशका मुख्यमन्त्रीले भने प्रचण्ड–नेपाल समूहका मन्त्रीलाई पदबाट बर्खास्त नगर्ने बताएका छन् । बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूखुसी राजीनामा दिए छुट्टै कुरा भएको र आफूले बर्खास्त भने नगर्ने बताएका हुन् ।

‘मलाई एकता नचाहिने भए उतातिरका मन्त्रीहरुलाई हटाइदिन सक्थेँ हटाएको छैन नि,’ मुख्यमन्त्री गुरुङले भने, ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिन ।’

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन् ।

सरकार ढाल्न सहयोग गरेको भन्दै मुख्यमन्त्री राईले सरकारलाई सहयोग नगरेको र केन्द्रमा विवाद देखा परेसँगै आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको आरोप छ । मन्त्री आङ्बो माधव नेपाल समूहका हुन भने मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा अ‍ोली समूहका हुन् ।

त्यस्तै बागमती प्रदेश सरकारका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश तीन सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन् । मुख्यमन्त्रीकै कारण सरकार जनताप्रति जवाफदेशीविनि बन्दै गएको उनीहरुको निष्कर्ष छ ।

 साथै बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्ड–नेपाल समूहका कुनै पनि मन्त्रीलाई बर्खास्त गरेका छैनन् ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए । भट्ट पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका मुख्यमन्त्री हुन् । बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए ।