काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जनादेशमा जान डराएको बताएका छन् ।
बुधबार ओली समूहले बानेश्वरमा आयोजना गरेको भेलामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भट्टले प्रचण्डसँग आफ्नो ४० वर्षको सहयात्रा रहेको बताउँदै प्रचण्ड पनि ओली समूहमा आउने दाबी गरेका छन् । उनले महाधिवेशनसम्म प्रचण्डले धैर्यता गर्न नसकेर नेकपा फुटेको आरोप लगाएका छन् । उनले व्यक्तिको महत्वकाङ्क्षा पूरा नभएपछि पार्टी विभाजन भएको बताएका हुन् ।
‘विभाजन भनेको सत्रुतापूर्ण नै हो । किनभने अहिले हामीबीच विचारमा मतभेद छैन् । सैद्धान्तिक, वैचारिक राजनीतिक रुपमा के हो भन्ने छैन् । अहिलेको विभाजन भनेको व्यक्तिको महत्वकाङ्क्षा पूरा नभएपछि विभाजन हो । कसैलाई प्रधानममन्त्री र कसैलाई अध्यक्ष चाहिएको छ । आज पार्टीको अध्यक्षे कार्यकारी अध्यक्षले आफ्नो जिम्मा पूरा गरेर महाधिवेशनसम्म जाने धैर्यता उहाँ भएन’, उनले भने, ‘त्यसकारण उहाँहरुको अधैर्यता, महत्वकांक्षा सबै बुझिन्छ । बिस्तारै सबैले बुझ्दै जान्छन् र फेरी उहाँहरु यही ठाउँमा आउनुहुन्छ । प्रचण्डसँग मैले ४० वर्ष सहकार्य गरेको छु । हामी गएपछि साथीहरु आइहाल्छन् यसमा शंकै छन् । बहुमत प्राप्त प्रधानमन्त्रीले सर्वस्वीकृतपार्टीको नेता त्यो नेतालाई काम गर्न नदिएपछि संविधानमा टेकेर नयाँ जनादेशमा जान्छु भन्नु त्यो कलंक कसरी हुन्छ ? जनादेशमा जान उहाँहरु(प्रचण्ड–नेपाल) किन आत्तिएको ?’
मन्त्री भट्टले कसैले चाहेर पार्टी विभाजन नभएको र गत बैशाखको निर्वाचन आफूहरुले नै जित्ने दाबी गरेका छन् ।
‘पार्टीभित्रको अन्तरद्वन्द्वले यो स्थितिमा पुर्यायो । कसैले पनि चाहेको कुरा होइन । प्रधानमन्त्रीले चाहेर भएको होइन् । परिस्थिति सिर्जना गरेपछि यसलाई रोक्ने को हो त ? संसद विघटन गरेर जनादेशमा जानु नै सही कदम हो । अब निर्वाचन हुन्छ । हामी जनताबाट जितेर आउँछौं । निर्वाचन हुन्छ भन्ने विश्वस्त छु । अदालतले सरकारको कदमलाई सही हो भन्छ’, उनले भने ।
उनले प्रचण्ड–नेपाल समूहलाई आफू कति संवैधानिक छु भनेर समीक्षा गर्न पनि आग्रह गरेका छन् । उनले अबको निर्वाचनमा जनतालाई सरकारले गरेका काम र मध्यवधी निर्वाचन गर्नुको कारण प्रष्टसँग राख्ने बताए ।
‘अहिलेसम्म सरकारले गरेका कामकाजलाई जनतासम्म पुर्याउँछौं । यो स्थिति किन आयो त्यो पनि जनतालाई बताउँछौं । जताले हामीलाई साथ दिन्छन्’, उनले भने ।
नेता भट्टले जनयुद्धमा ज्यान गुमाएका १२ हजारको जिम्मा कसले लिने भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।
‘हामी युद्ध (प्रचण्डको नेतृत्वमा जनयुद्ध) लड्यौंँ । युद्धको बेलामा सत्तापक्ष र हाम्रो पक्ष दुवैतर्फबाट नागरिकले ज्यान गुमाए । तर उहाँ (प्रचण्ड) टुँडिखेलमा गएर ५ हजारको जिम्मा चाहिँ म लिन्छु भन्नुहुन्छ । बाँकीको जिम्मा चाहीँ कसले लिन्छ ? जनयुद्ध गर्ने हामी, अनि बाँकीको जिम्मा कसले लिनुपर्ने’, उनले भने ।




प्रतिक्रिया