प्रचण्डको पद यथावत छ, गल्ती स्वीकार गरेर मूल पार्टीमा फर्किनुस्ः विष्णु पौडेल

प्रचण्डको पद यथावत छ, गल्ती स्वीकार गरेर मूल पार्टीमा फर्किनुस्ः विष्णु पौडेल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले केपी ओली नेतृत्वको नेकपाले अहिले पनि एकताको कोशिस गरिरहेको बताएका छन् ।

बुधवार प्रदेश नम्बर २ का अगुवा नेता कार्यकर्तालाई वीरगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री समेतर रहेका महासचिव पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेलाल समूहले पार्टी विभाजनको कोशिश गरेपनि आफूहरूले अहिले पनि एकताको कोशिश गरिरहेको बताएका हुन् ।

प्रचण्डलाई दिइएको कार्यकारी अधिकारको हैसियत खोसे पनि अध्यक्ष पद अहिले यथावत राखिएको भन्दै उनले यसबीचमा गरेका गल्ती सच्याएर मूल पार्टीमा फर्किन प्रचण्ड नेपाल समूहलाई आग्रह गरेका छन् ।

‘पार्टी विभाजनका लागि प्रचण्ड नेपालले जुन कोशिश गर्नुभएको छ, एकता जोगाउन हामीले कोशिश गरेका छौं । अहिले पनि हामीले ठाउँ राखेका छौं, गैरवैधानिक ढंगले बैठक बोलाएको भनेर प्रचण्डको कार्यकारी हैसियत खोसे पनि अध्यक्षबाट अहिले पनि हटाएका छैनौं’ पौडेलले भने, ‘यसको अर्थ के भने यसबीचमा जे गल्ती गर्नुभएको छ । ती गल्तीलाई महशुस गरेर, नेतृत्वविरुद्ध लगाएको आरोपपत्रलाई फिर्ता लिनुहुन्छ भनेर आउनुस्, यो पार्टीमा अट्न सक्नुहुन्छ । आफ्ना गल्तीलाई स्वीकार गर्नुस्, तपाईंहरूका लागि अहिले पनि ठाउँ सुरक्षित गरेका छौं ।’