काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि खनिएका छन् ।
बुधबार काठमाण्डुमा सुदूरपश्चिमका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालको चर्को आलोचना गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘धृतराष्ट्र’ र माधव नेपाललाई प्रचण्डको ‘मामुली कार्यकर्ता’ भन्न भ्याएका छन् ।
उनले आफूलाई प्रचण्डसँग मित्रताको अंगालो हाल्न खोजेको तर प्रचण्ड धृतराष्ट्र बन्न खोजेको आरोप लगाए ।
‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’
प्रधनामन्त्री अोलीले वितेको ३ वर्षमा प्रचण्डसँग सम्झौता गर्दा एउटा ब्रिफकेश भरिएको टिप्पणी गरे । प्रचण्डले गत निर्वाचनमा कांग्रेससंग वार्ता गर्ने र आफूसंग आएर बार्गेनिङ गरेको आरोप उनले लगाएका छन् ।
उनले भने, ‘चुनाव बामपंथीसंग मिलेर लड्ने अनि दक्षिणपन्थीसंग मिल्ने ? कति सम्झौता गर्ने ? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ ।’
लामो समय प्रचण्डलाई गाली गर्न खर्चिएका प्रधानमन्त्री ओलीले माधव नेपालबारे धेरै बोलेनन् । उनले नेता नेपालको क्यारिकेचरसमेत गर्न भ्याए । उनले माधव नेपाल प्रचण्डको कार्यकर्ता भन्दै सम्बोधन गरेका छन् । उनले नेता नेपालले आफूसँग उधारो सम्झौता नगर्ने अडान लिएको स्मरण गरेका छन् ।
‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन् । मलाई केही पनि भन्नु छैन । उहाँ सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो । उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ,’ उनले भने, ‘उहाँ प्रचण्डको कार्यकर्ता हुन जानुभयो कार्यकर्ताको के टिप्पणी गर्नू ?’
त्यस्तै उनले आफू मरे पनि प्रचण्ड– नेपालको आकांक्षा पूरा हुन नदिने दाबी गरेका छन् । उनले माइतीघरको चिसो भुइँमा बसेर रमिता नखादेखाउनसमेत आग्रह गरेका छन् ।
‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिनँ। चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ। अब चुनावको तयारी गर्नुहोस्,’ उनले भने, ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस् ।’
प्रधानमन्त्री ओलीले आफू प्रचण्डले बनाएको कार्यकर्ता नभएको र कसैले पार्टीबाट निकाल्दैमा आफू ननिक्लने दाबी गरे ।
‘उहाँ (प्रचण्ड)त केपी ओलीलाई पार्टीबाट निकाल्दिनेतिर लाग्नुभयो । प्रचण्डले बनाएको कार्यकर्ता हुँ र म निकाल्नलाई?,’ उनले प्रश्न गरे ।
उनले प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न आफूले पटकपटक सम्झाएको बताएका छन् । उनले राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताको सेवा गर्नू हो भनेको बताए । त्यस्तै उनले तीन वर्षमा प्रचण्डलाई धुँदा डल्लाकाडल्ला साबुन खर्च भएको बताएका छन् ।
‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो । ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै,’ उनले भने ।




प्रतिक्रिया