अर्घाखाँची – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका कारण नेकपामा दुर्घटना भएको बताएका छन् ।
उनले प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको बताएका हुन् ।
प्रेस संगठनले आइतबार बिहान सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले विगतमा प्रचण्डले आफू नेतृत्वको सहित आठवटा सरकार ढालेको भन्दै अहिले ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड–नेपालले सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको दाबी गरे ।
‘उहाँ (प्रचण्ड) लाई सरकार ढाल्ने बानी परेको छ, सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो,’ उनले भने, ‘उहाँहरू पदका लोभी हुनुहुँदो रहेछ, प्रचण्ड र नेपालकै कारण संसद् विघटन भयो, प्रमुख दोषी उहाँहरू हो,’ उनले भने ।
पार्टी अध्यक्ष हुन दुई–चार महिना महाधिवेशन पर्खन नसक्ने, प्रधानमन्त्री हुन निर्वाचन कुर्न नसक्ने दाहाल–नेपालको महत्त्वाकांक्षाकै कारण पार्टी विभाजन भएको रायमाझीको तर्क छ ।




प्रतिक्रिया