राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेमाथि कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेमाथि कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नाराबाजी गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरूद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले राष्ट्रपतिमाथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको र सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्न निर्देशन दिएको बताए ।

अखिल नेपाल महिला संघकी नेतृ शर्मिला कार्कीले राष्ट्रपति राष्ट्रको उच्च संस्थामा रहेको व्यक्तिमाथि गम्भीर खालका नाराहरु लगाइएको भन्दै कारबाहीका लागि गृहमन्त्री समक्ष आग्रह गरेको बताइन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नारा लगाउन नपाइने बताइन् ।

‘कुनै समूह वा व्यत्ति संस्था वा आयोजकलाई छोड्नेवाला छैनौं । राष्ट्रपति र प्रधानमन्त्रीमाथि यस्ता किसिमका गतिविधि गरेको पाइए राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरको कारबाहीका लागि हामी जानेछौं’, उनले भनिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपति भण्डारीले संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दल, नागरिक समाजहरुले आन्दोलन गरिरहेका छन् ।  आन्दोलन राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध विवादस्पद नारा लाग्दै आइरहेका छन् ।