काठमाण्डु – झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको गाडीको ग्यारेज बनाउने क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।
बिर्तामोड नगरपालिका-२ रामचौकस्थित ध्रुव भट्टराईको जग्गामा राजवंशीले सञ्चालन गरेको टिनको छानो भएको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट क्यान्टिनमा काम गर्दै आएका झापाकै गौरीगन्ज गाउँपालिका-२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव जलेको अवस्थामा फेला परेको हो। आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, १ लाख रुपैयाँ नगद र ३ वटा खसीबाख्रा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यस्तै ग्यारेजसँगै टाँसिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल टाइल्सको गोदाममा समेत आगोले जलेको झापा प्रहरीले जनाएको छ।


प्रतिक्रिया