काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपाको आन्तरिक मामलामा बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको बताएका छन् ।
आज बबरमहलमा आयोजित ओली नेतृत्वको नेकपा भेलालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले हाम्रो आन्तरिक मामिलामा खुलेयाम बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको भन्दै यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा बढेका बताएका हुन् ।
‘अस्ती कमरेड प्रचण्डले एउटा टेलिभिजनमा भनिसक्नुभयो, हामीलाई अन्तर्राष्ट्रिय समर्थन किन आएन ? म छक्क पर्या छु । अरु देश किन बोल्दैन हँ अहिलेसम्म ? यो मौनता पचेन है मलाई । समर्थन चाहियो नी हामीलाई भन्नुभयो । हाम्रो आन्तरिक मामिलामा खुलेयाम यसरी बाह्य हस्तक्षेप भित्र्याउने प्रयास हुँदैछ । यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा छ,’ उनले भने, ‘कार्यकारी अध्यक्ष बनेर महाधिवेशन नगर्ने तर प्रधानमन्त्री नै चाहिने भनेर षडयन्त्र गर्ने ?’ उनले प्रश्न गरे ।
वीपी कोइरालाको ‘दोषी चश्मा’ प्रसंग निकाल्दै प्रवक्ता ज्ञवालीले केही साथीले आँखामा दोषी चस्मा लगाएपछि कुर्सी मात्र देखिने गरेको समेत बताए । उनले भने, ‘वीपी कोइरालाको कथा जस्तो चश्मा नै दोषी लगाएपछि केहीले अहिलेका प्रगति नै देखेनन्, मात्र एउटा कुर्सी देखे । बनेका बाटो, हस्पिटल देखेनन् । राष्ट्रपतिको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरेको देखेनन् । बस एउटा कुर्सी देखे ।’
उनले पार्टी कमिटीहरु सहमतिका आधारमा अघि बढ्नुपर्ने एकताको मर्म विपरीत ४ नेताले अल्पमत र बहुमतको आधारमा अघि बढाएको आरोप लगाए । ‘प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो पार्ने अवस्था सिर्जना भयो। आन्दोलन र उपलब्धीलाई खेर जान दिनु हुँदैन भनेर प्रमले यो कदम चाल्नुभयो,’ उनले भने ।
उनले अहिलेको कदमको वैधानिकताको अन्तिम फैसला न्यायलयले गर्ने भन्दै अभियान लिएर आ–आफ्नो क्षेत्रमा जान कार्यकर्तालाई आह्वान गरे ।




प्रतिक्रिया