कालो बेलुन उडाएर गृहजिल्लामा गृहमन्त्री बादलको विरोध

कालो बेलुन उडाएर गृहजिल्लामा गृहमन्त्री बादलको विरोध


चितवन – गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध गृहजिल्ला चितवनमा कालो बेलुन उडाइएको छ ।

प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो ।

कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार’ लेखेको ब्यानर कालो बेलुनमा बाँधेर उडाएका थिए । पूर्वमाओवादी समूहबाट गृहमन्त्री बनेका बादल ओली समूहमा लागेका छन् ।