काठमाण्डु – वन तथा वातारवण मन्त्रालय अन्र्तगतको वातावरण विभागले काठमाण्डु उपत्यकामा वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढेको भन्दै घर बाहिर निस्कँदा सावधानी अपनाउने आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले पुस २० गतेबाट काठमाण्डु उपत्यकामा वायु प्रदुषणको मात्रा बढेकाले वृद्धवृद्धा र केटाकेटीलाई घर बाहिर ननिस्किन आग्रह गरेको हो ।
‘विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उहाँहरुलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घर बाहिर निस्कदा विशेष सावधानी अपनाउन वातावरण विभाग हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै काठमाण्डु उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरु जस्तै नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदुषणको मात्रा उच्च भएको पाइएकाले तराई क्षेत्रका नागरिकहरुलाई पनि विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदुषण झनै बढ्ने भएकाले यस्तो नगर्न अनुरोध गरेको छ ।
काठमाण्डु शहर विश्वका ५० शहरमध्ये सबैभन्दा बढी प्रदुषण हुने शहरमा पुगेको छ । काठमाण्डुको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३७२ पुगेको आइक्यू एअरले जनाएको छ ।





प्रतिक्रिया