काठमाण्डु – कन्फरेन्स अफ इन्टरनेशनल एनजिओ नेटवर्क(कोइन जापान)को आयोजनामा देशभरका ८० भन्दा बढी सामुदायिक सिकाइ केन्द्रका पदाधिरकारी सम्मिलित ९औं एसियन फ्युचर युथ प्रोजेक्ट भर्चुअल विधिमार्फत सम्पन्न भएको छ ।
“सामाजिक विकासका लागि सामुदायिक सिकाइ केन्द्रहरुको प्रवद्र्धन तथा क्षमता विकास “ भन्ने नाराका साथ आयोजित वेबिनारमा ७७ जिल्लाबाट ८० भन्दा बढी सामुदायिक सिकाइ केन्द्र(सासिके)का पदाधिरकारी सहित एक सयजना भन्दा सहभागीहरुले सामुदायिक सिकाइ केन्द्र प्रति सरकारका नीतिहरुका विविध पक्षमा बहस गरेका थिए ।
उक्त वेबिनारमा नेपाल सरकारसम्बद्ध निकायहरुबाट ७ वटै प्रदेशका ७७ जिल्लाका जिल्ला शिक्षा समन्वय इकाइबाट नमुनाका रुपमा छानिएका सासिकेहरुले स्रोत व्यक्तिहरुबाट कोइन जापान परियोजना, युनेस्को सचिवालयका विविध गतिविधि, दीगो विकास लक्षित सासिकेहरुमा स्रोत संकलन तथा परिचालन साथै सामुदायिक सिकाइ केन्द्रप्रति सरकारका नीतिहरुका बारेमा बहस गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा तथा मावन स्रोत विकास केन्द्रका उप महानिर्देशक विष्णुप्रसाद अधिकारीले सामुदायिक सिकाइ केन्द्रहरुको प्रवद्र्धन गर्न सकेमात्रै समाजको विकास हुने बताए । कोइन जापानका महासचिव तेत्सुअ हाशिमोतोले आयोजकको तर्फबाट मन्तव्य राख्दै फ्यूचर यूथ प्रोजेक्टका विषयमा आफ्नो धारणा राखेका थिए ।
सामुदायिक सिकाइ केन्द्र(सासिके)काे मूल्यांकन गरिने
एसियन फ्युचर युथ प्रोजेक्ट कार्यक्रमको निरन्तरताका रुपमा विशेष निर्णायक समितिबाट सहभागी सासिकेहरुको मूल्यांकन गरी २१ वटा छनोट गरी उनीहरुको विस्तृत सर्वेक्षण गर्ने, २१ वटा सासिकेका ३ जना कर्मचारी जम्मा ६३ जनाको व्यक्तिगत सर्वेक्षण गर्ने, सहभागी सासिकेहरुमध्ये ७० जना युवाहरुलाई प्रस्तावना लेखनको लागि निवेदन दिन लगाउने र त्यसमध्ये २१ जनालाई प्रस्तावना लेख्ने प्रतियोगितामा भाग लिन लगाउने, २१ जनाको वेबिनार गर्ने, २१ वटा प्रस्तावनालाई विशेष मूल्यांकन समितिबाट ३ वटा छनोट गर्ने र उत्कृष्ट तीनलाई जापानमा प्रस्तुत र छलफल गर्ने योजना रहेको उक्त परियोजनाका नेपाल संयोजक निरोज श्रेष्ठले जानकारी दिए
। उक्त परियाेजना जापानको शिक्षा विज्ञान प्रविधि मन्त्रालयको सहयोगमा नेपाल सरकारको सहकार्यमा भइरहेको पनि संयोजक श्रेष्ठले बताए । प्रोजेक्ट अन्तर्गत तालिमका लागि स्रोत व्यक्तिका रुपमा गोरखाबाट सासिके क्षेत्रका विशेश्वर कट्टेल, युनेस्कोकी क्याप इडि कार्यक्रम संयोजक प्रतिभा श्रेष्ठ, शिक्षा तथा मावन स्रोत विकास केन्द्रकी विमला मिश्र, पूर्व शिक्षा महानिर्देशक बाबुराम पौडेल, शिखरापुर सासिकेका संयोजक निरोज श्रेष्ठ साथै कोइन जापानकी माकी हागेसावा थिइन् ।
वेबिनारमा दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती डङ्गोल तामाङ, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को काठमाण्डुका डा. बलराम तिमिल्सिना, युनेस्को काठमाण्डुका विज्ञ डा. ध्रुवराज रेग्मी लगायतको उपस्थिति थियो । शिक्षा तथा मावन स्रोत विकास केन्द्र, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोग, युनेस्को काठमाण्डुको सहकार्य र शिखरापुर सामुदायिक सिकाइ केन्द्रको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ ।




प्रतिक्रिया