कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले काम गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको बेला अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो । भट्ट नेकपाको विभाजनपछि प्रचण्ड नेपाल समुहमा लागेका छन् । उनलाई त्यो समुहबाटै पनि फिर्ता बोलाउनुपर्ने दबाव छ । मुख्यमन्त्री भट्ट समेत प्रदेश इन्चार्ज भिम रावलसंग असन्तुष्ट बनेको स्रोतको दावी छ । यसअघि नेपाल निकट सांसदहरुले उनलाई हटाउन हस्ताक्षर समेत सुरु गरेका थिए ।
सुदुरपश्चिम प्रदेश सभामा ५३ जना सांसद रहेका छन् । प्रदेशसभामा ३९ नेकपा, १२ कांग्रेस र २ जसपाका प्रदेशसभा सदस्य रहेका छन् । सुदुरपश्चिम प्रदेशसभामा प्रधानमन्त्री केपी ओलीको पक्षमा यसअघि केही सांसद मात्र खुलेर लागेका थिए । तर अहिले प्रधानमन्त्रीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या ८ पुगेको छ ।
प्रदेश सांसदहरु झपट बोहरा, रतन थापा, गेल्वु वोहरा,महेश जोशी, नेपालु चौधरी, पठानसिंह बोहरा र लिलाधर भट्ट ओली पक्षमा लागेका छन् । कृषीमन्त्री रहेकी विनिता चौधरी, माया तामांग बोहरा, कुलविर चौधरी र मानबहादुर सुनारलगायतसंग पनि ओली पक्षले छलफल बढाएको छ । नेकपाको ओली पक्षका एक नेताले चांडै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए । त्यसका लागी कांग्रेससंग छलफल भइरहेको उनको भनाई थियो ।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बुधबार पदबाट राजीनामा दिएका थिए । बोहराले प्रचण्ड नेपालको गुण र दोष हेरेर नीति बनाउने भन्दै उनले प्रदेश संसदमा चांडै बहुमत पुर्याउने दावी गरेका छन् । यसअघि भौतिक पूूर्वाधार विकासमन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरेका थिए । बोहरा पनि ओली निकट मन्त्री हुन् ।
सुदुरपश्चिममा सरकार बनाउने ओली पक्षलाई ६ जना सांसदको आवश्यकता रहेको छ । नेपाली कांग्रेस र जनता समाजवादीसंग मिलेर सरकार बनाउन ६ जना प्रदेशसभा सदस्य अपुग देखिएको छ । त्यसका लागी उद्योगमन्त्री समेत रहेका नेकपाका सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट कैलालीमा छलफलमै व्यस्त छन् । उनले सांसदहरुलाई आफ्नो पक्षमा ल्याउन २ दिनदेखी छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओली पौष २४ मा धनगढी आएपछि माहोल उल्टने ओली पक्षको दावी छ ।
सुदुरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको छ । तर,पछिल्लो समय सांसदहरुले प्रचण्ड नेपाल पक्ष छोड्ने क्रम भने सुरु भएको बताइन्छ । सुदुरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला र भौतिक पुर्वाधार मन्त्री रिक्त भएसंगै नेपाल प्रचण्ड पक्षबाट मन्त्री बन्ने आकांक्षीहरुको दौड सुरु भएको छ ।
मुख्यमन्त्री भट्ट भौतिक पुर्वाधार र अर्थमन्त्री हटाउने पक्षमा नभएपनि नेता भिम रावलको दबावमा उनले मन्त्री हटाएका हुन् । भट्ट र रावलबीच पछिल्लो समय सुमधुर सम्बन्ध नभएको बताइन्छ । रावलले आफु निकट नेताहरु प्रमुख सचेतक तारा लामा तामाङ र दिर्घ सोढारीलाई मन्त्री बनाउने तयारी गरेका छन् । दुवै जनालाई मन्त्री बनाउने वित्तिकै बहुमत सांसद ओली पक्षमा लाग्ने तयारीमा छन् । ओली पक्षले पनि मुख्यन्त्री भट्टले मन्त्रीमण्डल विस्तार गरेसंगै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।




प्रतिक्रिया