मेरो कार्यकालमा जस्तो विकासका काम अरु कुनै सरकारले गरेको छैनः प्रधानमन्त्री ओली

मेरो कार्यकालमा जस्तो विकासका काम अरु कुनै सरकारले गरेको छैनः प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा जस्तो असाधारण विकास यसअघि अरु कुनै पनि सरकारका बेला नभएको दाबी गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

 प्रधानमन्त्री ओलीले यो सरकारको पालामा रानीपोखरी देखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए । ‘विकासलाई तीव्रताका साथ अघि बढाएका थियौं । रानीपोखरी धुलोले पुरिने अबस्था थिएन । अहिले रानीपोखरी तयार गरेर उद्घाटन गर्‍यौं,’ उनले भने ।

त्यसैगरी उनले आफ्नो सरकारले एक वर्षमै ९८० किलोमिटर सडक पिच गरेको पनि बताए । ‘एक वर्षमै सरकारले ९८० किलोमिटर सडक कलोपत्रे गरेको छ । असाधारण ढंगले विकासका काम भएका छन्’, उनले भने, ‘द्रूतगतिमा काम भएको छ । यसभन्दा अघि कुनै पनि सरकारको पालामा यसरी विकास भएको थिएन ।’

उनले महाकालीमा पुल बनिरहेको, किमाथांका नाकामा सडकले जोडिरहेको बताउँदै देशभर विकासको लहर चलेको पनि बताए । ‘सरकारले तीव्र गतिमा विकासको काम गरिरहेको छ’, उनले भने, ‘सरकारले काम गरेको देख्न नसकेर निर्वाचनबाट बहुमत पाएको सरकारलाई हटाउन खोजियो, अनेक षडयन्त्रका तानाबाना बुनियो ।’