काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
सबै तहका सदस्यलाई पठाइएको सर्कुलरमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी र सरकार कब्जा गर्न खोजेका कारण संसद विघटन गरेर ताजा जनादेशमा जानु परेको उल्लेख गरिएको छ ।
प्रचण्ड र माधव नेपालले चार महिनापछि हुने महाधिवेशन र प्रधानमन्त्रीका लागि ताजा जनादेश कुर्न नसक्दा संसद विघटनको अवस्थामा पुग्नु परेको बताइएको छ ।
‘प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने,नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंशकारी मनशाय मुख्य जिम्मेवार छ । पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरुमा अन्तर्निहीत अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ’, सर्कुलरमा भनिएको छ ।
त्यस्तै गत पुस ४ गते प्रचण्ड निवास खुमलटार पुगेर प्रधानमन्त्री अोलीमाथि लागेको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरिएको बताइएको छ । पुस ४ गते प्रधानमन्त्री अोली आफैं खुमलटार पुगेर प्रचण्डलाई उक्त महाअभियोग फिर्ता लिन र पार्टीमा सहमति कायम गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टीको विशेष महाधिवेशनको तयारी गर्न र वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णयका लागि सहयोगी बन्न आग्रह गरेका थिए । तर, उनले सबै प्रस्ताव अस्वीकार गर्दै राजीनामा दिन अडान लिएका थिए ।




प्रतिक्रिया