कोरोनाकाे खोप छिमेकी मुलुकसँगै नेपालमा आइपुग्छः मन्त्री त्रिपाठी

कोरोनाकाे खोप छिमेकी मुलुकसँगै नेपालमा आइपुग्छः मन्त्री त्रिपाठी


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले छिमेकी मुलुकहरू सँगसँगै कोरोना भाइरसविरूद्धको खोप नेपालमा आइपुग्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो नेपालमा ल्याउन ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिए ।

‘खोप ल्याउने सम्बन्धमा छिमेकी मुलुकभन्दा धेरै पछि हामी हुँदैनौं । हामी सँगसँगै हुन्छांै । यसको लागि सरकारले तयारी गरिसकेको छ । सबै सम्भावनाको खोजी गर्दै ल्याउने कोसिस गरिरहेका छौं,’ उनले भने ।

‘खोपको प्राप्ति अन्य व्यावसायिक वस्तु जस्तो होइन रहेछ । यो राजनीतिक सामग्री हुन पुगेको छ,’ उनले भने, ‘निश्चित देशमा निश्चित कम्पनीले उत्पादन गर्ने, वितरण गर्ने भएकोले यो राजनीतिक सामग्री बन्न पुगेको हो । त्यसैले हामीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेका छौं ।’

उनले खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने प्रस्ट पारे । ‘मन्त्रालयले लक्षित वर्ग छुट्याएको छ । निजी क्षेत्रलाई पनि यस खरिद प्रक्रियाबाट बाहिर राख्दैनौं,’ उनले भने, ‘सरकारले आफू पनि नल्याउने, निजी क्षेत्रलाई पनि ल्याउन नदिने हल्ला सत्य होइन । पहिले सरकार माध्यमबाट ल्याउन लागिएको हो ।’

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए ।

‘विश्वले नै खोपलाई प्राथमिकता दिइरहेको छ, हामीले पनि प्राथमिकता दिएका छौं,’ उनले भने, ‘ढुक्क हुनुस् खोप आउँछ, यसलाई निःशुल्क रूपमा नै लगाउने प्रतिवद्धता छ ।’