काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सुरु हुँदैछ । उक्त बैठकमा सहभागी हुनका लागि नेपालबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित १२ सदस्यीय टोली बिहीबार नै भारत प्रस्थान गरिसकेको छ ।
नयाँदिल्लीमा हुने आयोगको छैटौँ बैठकमा काठमाण्डुमा सम्पन्न पाँचौं बैठकमा भएका सहमति र सम्झौताको प्रगति समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृतिसँग सम्बन्धित विषयमा नै सघनरूपमा विचारविमर्श हुने बताइएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीस्तरमा भएका समझदारीलाई संस्थागत गर्ने, तिनको शीघ्र कार्यान्वयनका निम्ति योजना तर्जुमा तथा विगतमा भएका सहमति र सम्झौतालाई लागू गर्ने दिशामा उत्पन्न व्यवधान अन्त्यका निम्ति परामर्शमात्र नभइ एक्काइसौँ शताब्दी सुहाउँदो नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा प्रदान गर्ने मार्गचित्रको खाका बनाउने बारेमा पनि आयोगको बैठकमा छलफल हुनेछ ।
नेपाल–भारत सम्बन्धका सबै आयामलाई समेट्नुका साथै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन नेपाल–भारत सम्बन्धका जानकार व्यक्तित्व सम्मिलित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, भारत सरकारको सहयोगमा सञ्चालित विकास–निर्माणका परियोजनाहरूको धरातलीय यथार्थसहितको वस्तुस्थितिबारे सम्बन्धित पक्षबाट बैठकमा जानकारी गराइनेछ भने तिनलाई द्रुतगतिमा कार्यान्वयन गर्न उच्चस्तरबाट हुनुपर्ने नीति एवं प्रक्रियागत निर्णयमा विलम्ब नगर्ने प्रतिबद्धता पनि व्यक्त हुनेछ ।
बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशबीच सहयोग आदान–प्रदान गर्ने विषयमा मात्र नभइ नेपाल र भारतबीचको सामरिक महत्वको सीमा नदी महाकालीमा निर्माण हुने भनिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका काम अघि बढाउनेबारेमा पनि नेपालले भारतको ध्यानाकर्षण गर्नेछ ।
महाकाली नदीमा बाँध बनाएर पाँच हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने र दुवै देशका लाखौँ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने तीन दशक पुरानो उक्त परियोजनालाई कागतमा मात्र सीमित नराखेर कार्यान्वयनमा नै जानुपर्ने अडान बैठकको महत्वपूर्ण कार्यसूची रहेकाे छ ।
पञ्चेश्वर परियोजनाको समाधान गर्न बाँकी विषय टुङ्ग्याएर विस्तृत परियोजना प्रतिवेदन तयार पार्न दुवै देशका सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको भए पनि पानीको बाँडफाँटबारे सहमति जुट्न नसक्दा प्रतिवेदनलाई अन्तिम रूप दिन सकिएको छैन भने पञ्चेश्वर विकास प्राधिकरण स्थापना भए पनि त्यो औचित्यविहीन बनेको छ । पानीको बाँडफाँट, सिँचाइ र ऊर्जाका क्षेत्रमा दुवै देशलाई लाभ हुने गरी यो बैठकले परियोजनालाई गति दिन आवश्यक निर्णय गर्ने अपेक्षा पनि गरिएको छ ।
बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख यज्ञबहादुर हमालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।
नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया