मैले न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन: प्रधानमन्त्री ओली

मैले न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन: प्रधानमन्त्री ओली

जनता नहँसाएर के म अब मान्छे मार्दै, बिधवा बनाउँदै, रुवाउँदै हिँडौँ त ?


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको दाबी गरेका छन् ।

प्रदेश १ को राजधानीमा आयोजित आफू पक्षीय नेकपाकाे कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि न्यायाधीशहरुलाई अहिले मात्र नभई कहिल्यै पनि नभेटेको बताएका हुन् ।

‘सपना प्रधानलाई सर्वोच्चको न्यायाधीश हुनुअघि वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन’, उनले भने ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै संवैधानिक बैठकमै प्रश्न उठेको थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेर जनतालाई खुशी पार्दा नेताहरुले जोकरको ट्याग दिएको भन्दै प्रश्न गरेका छन् ।

‘उहाँहरुलाई केपी ओली हाँसिरहेकोमा, नेपाली हाँसिरहेकामा पीर परेको रैछ । के म अब मान्छे मार्दै, बिधवा बनाउँदै, रुवाउँदै हिँडौँ त ?’ उनले प्रश्न गर्दै भने, ‘देश बर्बाद भएको छैन, बर्बाद पार्न नपाएकामा उहाँहरुको चिन्तामात्र हो । उहाँहरुले बर्बाद पार्न खोज्नुभएको थियो । हामीले दिएनौँ ।’

उनले आफूले देशका बालबालिका किशोर, बाआमाको अनुहारमा मुस्काउन ल्याउन चाहेको बताए । उनले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताए ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

उनले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे ।