संसद विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

संसद विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु


काठमाण्डु – संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको हो ।

आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले होइन आफैं समय मिलाएर बोल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका हुन् ।

उनले प्रतिनिधि सभा विघटन गम्भीर विषय भएकाले निवेदकले आफैं समय मिलाएर बोल्नका लागि आग्रह गरेका हुन् ।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए । विघटन संवैधानिक क्षेत्राधिकारबाहिर भएकाले बदरको माग गरिएको छ । रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका थिए ।

रिट निवेदकहरुको बृहत पूर्ण इजलासको माग गरेपनि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन् ।