काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । माघ १ गते नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत प्रस्थान गरेका हुन् ।
शुक्रबार संयुक्त आयोगको बैठकपछि मन्त्री ज्ञवालीले दुई मुलुकबीच देखिएको सीमा विवादको समाधान गर्न नेपालले अविलम्ब वार्ता गर्न चाहेको बताएका थिए ।
इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर्सले आयोजना गरेको प्रवचन कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल संवादबाटै समस्या सुल्झाउने पक्षमा रहेको बताएका हुन् । तर, भारतीय पक्षले मन्त्री ज्ञवालीको उक्त प्रस्ताव वास्ता नै गरेन । यतिसम्म कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न भारतीय पक्षले चासो नै देखाएन ।
भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई आफ्नो नक्सामा पारेपछि नेपाल र भारतबीच सम्बन्धमा चिसोपना आएको थियो ।
त्यसपछि नेपालले यी तीन आफ्ना भूभाग समेट्दै नयाँ नक्सा जारी गर्दै त्यसलाई संविधानमै समेटेको थियो । नेपालले सीमा समस्याको समाधान चाँडै गर्न निरन्तर वार्ताको पहल गर्दै आएपनि भारतीय पक्षले नेपालको आग्रहलाई बेवास्ता गर्दै आइरहेको छ ।
त्यस्तै भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताए पनि भारतले त्यो व्यवहारमा लागू गर्न सकेको छैन् । सिंहले ट्विटरमा लेखेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ ।’
तर, उनको भनाईअनुसार भारतले नेपालमाथि व्यवहार नगरेको स्पष्ट हुुन्छ । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले छिमेकी मुलुकको मन्त्रीको औपचारिक भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय नदिनु सामान्य शिस्टाचारको हिसाबले पनि असोभनिय हुने बताए ।
‘नेपाल जस्तो मित्र देशको पररास्ट्रमन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतको प्रधानमन्त्रीले भेटसम्म नदिनु सामान्य शिस्टाचार को हिसाबले पनि असोभनिय घटना हो । यस्तो किन भयो ? नेपाल र भारत दुवैले सोच्नु पर्यो’, उनले भने ।
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण भारतले नेपालमाथि थप निगरानी गरिरहेको बताएका छन् । उनले प्रधानमन्त्रीका काम भन्दा कुरा ठूला भएकाले समस्या निम्तिएको बताएका हुन् ।
उनले भारतीय गुप्तचर प्रमुख नेपालका प्रधानमन्त्रीसँग वान टू वान वार्ता गर्न सक्ने तर, परराष्ट्रमन्त्रीलाई भेट्न भारतले समय नदिनु लज्जाको विषय भएको बताए ।
पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले भारत ठूलो देश भएका कारण नेपाललाई गर्ने व्यवहार फरक हुने टिप्पणी गर्छन् । उनले नेपालका काम चलाउ सरकारका मन्त्री भएका कारण भारतीय प्रधानमन्त्री मोदीले समय नदिएको दाबी गर्छन् ।
‘ भारतले नेपाललाई त्यति महत्व दिएको छैन् । काम चलाउ सरकार हो र यसको हैसियत र महत्व पूर्णकालीन सरकारको जस्तो निश्चय नै हुँदैन । यो कारणले पनि भेट नदिएको हुनसक्छ ’, उनले भने ।
केहीसमय अगाडि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आएका थिए । उनले काठमाण्डु अवतरण गरेकै राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे । उनीहरुले समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए ।




प्रतिक्रिया