काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आज अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका हुन् ।
शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो उनले भने।’
आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने उनले बताए । प्रचण्डले भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए ।
प्रधानमन्त्री ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको उनको भनाई छ । पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिँड्ने गरेको अध्यक्ष प्रचण्डले बताए । ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप समेत उनले लगाए ।




प्रतिक्रिया