केपी ओलीले प्रधानमन्त्री पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्ः माधव नेपाल

केपी ओलीले प्रधानमन्त्री पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्ः माधव नेपाल


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली डुप्लिकेट एमलो भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार आफू निकट प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओरिजिनल एमाले आफू भएको बताउँदै पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेको आरोप लगाएका छन् ।

‘ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताए । उनले प्रचण्ड र आफूलाई ओलीले भर्‍याङ मात्रै बनाएको बताए । उनले प्रधानमन्त्री ओलीले गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा फरक मतसमेत राखेको बताएका छन् ।

‘उहाँले प्रचण्ड र मलाई भर्‍याङ मात्रै बनाउनुभयो । कस्तो व्यक्तिलाई मैले प्रधानमन्त्री प्रस्ताव गरेछु,’ उनले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ । तर, केपी ओलीले प्रधानमन्त्री पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो ।’