प्रधानमन्त्रीको सिफारिसमा राजाको भाषा ह्वास्सै गन्हायोः प्रचण्ड

प्रधानमन्त्रीको सिफारिसमा राजाको भाषा ह्वास्सै गन्हायोः प्रचण्ड


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनपछि देशमा विशिष्ठ अवस्था सिर्जना भएको बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपछि देशमा विशिष्ट परिस्थिति सिर्जना भएको बताएका हुन् ।

त्यस्तै उनले राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । उनले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको बताए ।

‘प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेका छन् । त्यो सिफारिसको भाषामा राजाको भाषा ह्वास्सै गन्हाएको छ । संसद विघटन सिफारिस भएको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ । ओलीको हरेक भाषामा राजतन्त्रको आभास मिल्छ । निरंकुशतन्त्रतर्फ देशलार्य धकेल्ने काम भएको छ । यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।

उनले प्रतिगमनविरुद्ध लडाइँ गर्नुपर्ने बेला फेरि आएको बताए । उनले आफूले बोलेको कुराको बेला–बेला अपभ्रंश पनि हुने गरेको बताए ।

‘हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैँले प्रस्ताव गरेको प्रधानमन्त्रीले संविधानको बच्चाको हत्या भएको छ । मैले कुनै हिंसाको प्रोत्साहन गर्न विद्यार्थीलाई आक्रमक हुन भनेको होइन । केपी ओलीको कदमप्रति हाम्रो आक्रोश छ । हामी बन्दुक होइन मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो’, प्रचण्डले भने ।