काठमाण्डु – अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सहयोगको सराहना गर्दै राष्ट्रपति बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
उनले अमेरिकामा पहिलो महिला उप–राष्ट्रपतिको ऐतिहासिक चुनावको सराहना गर्दै लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता विषयहरूमा नयाँ अमेरिकी प्रशासनले प्राथमिकता दिनेमा आफू दृढ रहेको विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बाइडेनको सक्षम नेतृत्वमा संयुक्त राज्यले प्रगति र समृद्धि हासिल गर्न जारी राख्ने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकासँगको लामो समयदेखिको मित्रताको प्रति नेपालको प्रतिबद्धतालाई पुष्टि गर्दै प्रधानमन्त्री ओलीले नेपालको नयाँ अमेरिकी नेतृत्वसँग द्विपक्षीय स्तरमा आपसी हितका विषयहरूमा र बहुपक्षीय एजेन्डा अगाडि बढाउने बताएका छन् । उनले सहयोग, आर्थिक साझेदारी र जनताबीचको सम्पर्कले तयार पारिएको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि उपराष्ट्रपति ह्यारीलाई बधाई सन्देश पठाएका छन् । उनले सन्देशमा ह्यारीसँग द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न र नेपालको संघीय संसद र अमेरिकी कंग्रेसबीच सहकार्य अभिवृद्धि गर्न नजिकबाट काम गर्न इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया