काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले निर्वाचन आयोगले गरेको निर्णयलाई समर्थन गरेको छ । निर्वाचन आयोगले आइतबार प्रचण्ड–माधव नेपाल समूह र ओली समूहले गरेको दाबी अस्वीकार गर्दै नेकपालाई विभाजनबाट रोक्ने निर्णय गरेको थियो ।
ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी विभाजन नभएको बताउँदै आफूहरुको माग आयागले पूरा गरेको बताए ।
‘हामीले निर्वाचन आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौं, हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ उनले भने ।
उनले अराजकता सिर्जना गरेर पार्टी विभाजन गर्नेहरुले जनताको भावनामा चोट पुर्याउन खोजेको आरोप लगाएका छन् । उनले कात्तिक २८ गते पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाउका आरोपत्र फिर्ता हुनुपर्ने र घोषित निर्वाचनमा सहभागी भए एकता कायम रहने बताए ।
‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पु¥याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’




प्रतिक्रिया